रसुवा डायरी

आश्विन ३, २०७९ | रसुवा

२०७९ बैशाखमा निर्माण सम्पन्न भइसक्नु पर्ने सुख्खा बन्दरगाहको भौतिक प्रगति अहिलेसम्म ३५ प्रतिशत मात्र छ । निर्माण सुरु भएको ३० महिनामा सक्ने लक्ष्यसहित २०७६ मंसिर ४ मा सुख्खा बन्दरगाहको शिलान्यास भएको थियो । गोसाइकुण्ड गाउंपालिका–२ टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा कामदार र ठेकेदार नहुँदा काम ठप्प छ । समितिलाई जानकारी नदिई काम गर्न छोडेर चिनियां कामदार र निर्माण कम्पनीका कर्मचारी चीन फर्किएको इन्टरमोडल यातायात विकास समितिले बताएको छ ।

रसुवाको उत्तरगया गाउंपालिका–२ डांडागाउंमा रहेको भाङ्गे झर्नामा आन्तरीक पर्यटको भिड लाग्न थालेको छ । प्रचार प्रसारको अभावमा ओझेलमा परेको सो झरना सामाजिक सञ्जालमा भाइरल भएपछि घुम्न आउने आन्तरीक पर्यटकको चहलपहल बढेको हो । सामान्य दिनभन्दा विदाको दिन झर्ना अवलोकनका लागि बढि मानिस पुग्ने गरेका छन् । नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ चितवन, गोर्खा, मकवानपुर लगायत जिल्लाबाट पनि आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

चीनसँगको नाका रसुवागढी पुग्ने सडकको अहिले बेहाल छ । स्याउबारी देखि धुन्चे, स्याफ्रु हुंदै रसुवागढीसम्म पुग्दा खाल्टा खुल्टी ठाउं ठाउंमा भेटिन्छ । सडकको बेहालले गर्दा यात्रा जोखिम रहेको कन्टेनर चालक रामशरण आचार्यले बताए । स्याफ्रुबेसीं –रसुवागढी सडक खण्डमा पनि ठाउं ठाउंमा पहिरोको जोखिम छ । वर्षातको समयमा यात्रा गर्न झनै कठिन हुने गरेको छ । पासाङल्हामु मार्गको स्याउबारी देखि धुन्चे हुंदै स्याफ्रुसम्मको सडक खण्ड समयमै मर्मत नहुंदा जीर्ण हुंदै गएको छ । २०६८ सालमा कालोपत्रे भएपनि अहिले भत्किएर बनेको खाल्टा खुल्टि नपुरिंदा र पहिरो गएको ठांउहरुमा निर्माण नहुंदा सडक जीर्ण बनेको हो ।

लाङटाङ राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको साउन महिनामा ११ लाख ४९ हजार १ सय ४५ रुपैयां राजस्व संकलन गरेको छ । निकुञ्ज भ्रमणमा आएका स्वादेशी तथा विदेशि पर्यटकबाट ११ लाख ४९ हजार १ सय ४५ रुपैयां राजस्व संकलन गरेको हो । साउन महिनामा स्वादेशी तथा विदेशि गरि ७ हजार ९ सय ५५ जना पर्यटकले निकुञ्ज भ्रमण गरेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले बताएको छ । निकुञ्जमा विश्वमै दुर्लभ वन्यजन्तु रेडपाण्डा, हिमचितुवा र कस्तुरीमृग लगायतका जीवजन्तु पनि हेर्न पाइने निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराइले बताउनुभयो । 


प्रतिक्रिया