पर्सा डायरी

आश्विन ५, २०७९ | पर्सा

पर्सामा म्यादी प्रहरीमा महिलाको आकर्षण बढेको पाइएको छ । प्रहरी कार्यालयको तथ्यांक अनुसार, भदौ ३० देखि आवेदन खुल्ला गरिएकोमा हिजोसम्म ५ हजार ७ सय १८ आवेदन परेको छ । ती मध्ये ४ हजार ६ सय ६४ पुरुष र १ हजार ५४ महिलाले आवेदन दिएका छन् । कार्यालयका डिएसपि निर्मल बुढाथोकीका अनुसार असोज ६ सम्म आवेदन दिने म्याद रहेकाले भिड दैनिक बढ्दो क्रममा रहेको बुढाथोकीले बताउनुभयो । केन्द्रले २ हजार प्रहरी निर्धारण गरे पनि ७ हजारको आवेदन पर्ने अनुमान कार्यालयको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले पर्वलाई लक्षित गरी सहुलियत छुट मूल्य पसल सन्चालन गरेको छ । पसल असोज १ देखि कात्तिक १५ सम्म संचालन रहने शाखा प्रमुख विकास कटुवालले बताउनुभयो । पसलबाट स्टिम जिरा मसिनो चामलमा प्रति किलो २ रुपैया छुट दिई ६० रुपैयाँ र सोना मन्सुली चामलमा प्रति किलो ७ रुपैया छुट दिई प्रति किलो ४० रुपैयाँमा बिक्री भई रहेको छ ।

वीरगन्जको गहवामाई मन्दिर क्षेत्रको व्यवस्थापन गरिदै छ । वीरगन्ज महानगरपालिकाले ८० लाख रुपैयाँको लागतमा सो मन्दिरको व्यवस्थापन गरिएको हो । मन्दिरको चौतर्फी सडकमा करीब ४ सय मिटर क्रंक्रिट ब्लक लगाउने काम भइरहेको महानगरका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिनुभयो । यस्तै, फुटपाथमा र नालाको मर्मत भइरहेको अमात्यले बताउनुभयो । सो मन्दिरको क्षेत्र व्यवस्थानको माग स्थानीयबासीले गर्दै आएका थिए ।

सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट डेढ गुना बढी मदिरा आयात भएको छ । अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा ३ लाख ४३ हजार २ सय ७० लिटर बढी मदिरा आयात भएको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । कार्यालयका अनुसार गत आर्थिक बर्षमा सो नाकाबाट १ अर्ब ९१ करोड ३३ लाख ७६ हजार ९ सय १४ रुपैयाँ बराबरको ९ लाख ४७ हजार ५ सय ४१ लिटर मदिरा आयात भएको छ । अघिल्लो आर्थिक वर्षमा यो नाका हुदै १ अर्ब २३ करोड ६७ लाख ४७ हजार ३२ रुपैयाँ बराबरको ६ लाख ४ हजार २ सय ७१ लिटर मदिरा आयात भएको थियो । आयातकर्ताहरुले मदिराको आयातमा सरकारले पूर्ण बन्देज लगाउने थाहाँ पाएकाले सामान्य अवस्था भन्दा बढी मदिरा आयात गरेको कार्यालयका सूचना अधिकृत सन्तोष कुमार न्यौपानेले बताउनुभयो । 


प्रतिक्रिया