कञ्चनपुर डायरी

आश्विन ८, २०७९ | कञ्चनपुर

शुक्लाफाँटा नगरपालिका ११ का बनहरा नदीकिनारका सुकुम्बासी परिवार बाढीका कारण विस्थापित भएपछि विचल्लीमा परेका छन् । गत साता बनहरा नदीमा आएको बाढीले घर टहरा भत्काएपछि उनीहरु विस्थापित भएका हुन् । बाढीले घर टहरा भत्काउनुका साथै खाद्यान्नदेखि लुगा कपडा र वालवालिकाका किताब समेत बगाएको विस्थापित दल बहादुर बोहोराले बताउनुभयो । उहाँका अनुसार बनहरा नदीकिनारमा ३० परिवार सुकुम्बासी डेढ दशकदेखि बस्दै आएका छन् ।

जिल्लामा डेंगु संक्रमण बढ्दै गएपनि किटको अभावका कारण परीक्षणको दायरा बढाउन सकिएको छैन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका विभिन्न पालिका र महाकाली प्रादेशिक अस्पतालमा गरिएको परीक्षण अनुसार हालसम्म ४५ जनाभन्दा बढीमा डेंगु संक्रमण देखिएको छ । अहिले पालिकाहरुमा किटको अभावले परीक्षण बढाउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरिक्षक सिद्धराज भट्टले बताउनुभयो । उहाँका अनुसार प्रदेश आपुर्ती केन्द्रबाट आएका ३० किट विभिन्न पालिकामा वितरण गरिएपनि परीक्षणका लागि अभाव नै रहेको छ ।

चाड पर्व नजिकिएसंगै बजारमा म्याद नाघेका तथा अखाद्य वस्तुको बिक्री र कालोबजारी हुने भएपनि कञ्चनपुरका बजारमा अनुगमन भने हुन सकेको छैन । यति बेला चिसो पेय पदार्थदेखि, फास्टफुड र खाद्यान्न लगायतको मुल्यबृद्धि संगै म्याद नाघेका तथा गुणस्तरहीन वस्तुको बिक्री भइरहेको स्थानीय बताउँछन् । जिल्ला प्रशासन कार्यालयले एक महिनाअघि महेन्द्रनगरको सब्जीमण्डी क्षेत्रमा अनुगमन गर्दा अधिकांस पसलमा म्याद नाघेका वस्तुसंगै मुल्यसुची नराखेको र मासु पसलमा पनि सरसफाई नगरेको पाइएको थियो ।

कञ्चनपुरमा दशैं तिहार नजिकिएसंगै भारतबाट घर फर्किने नेपालीहरुको चाप बढन थालेको छ । रोजगारीका लागि भारतका विभिन्न ठाउँ पुगेकाहरु अहिले धमाधम घर फर्किन लागेका हुन् । रोपाई सकेर पटके रोजगारीका लागि भारत पसेकाहरु समेत दशैं तिहार खर्च जुटाएर फर्किन लागेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डा चौकीमा स्थापना गरेको सहायता कक्षका कर्मचारी दानसिंह बोहोराका अनुसार अहिले दैनिक आठ सय देखि एक हजार सम्म नेपालीहरु घर फर्किने गरेका छन् ।



प्रतिक्रिया