दोलखा डायरी

कार्तिक १२, २०७९ | दोलखा

 मौषम खुलेसँगै दोलखाको पर्यटकिय कालिञ्चोक क्षेत्र घुम्न आउनेहरुको चहलपहल बढेको छ । सो क्षेत्रमा दैनिक ५ सय भन्दा बढि आन्तरिक पर्यटक पुग्ने गरेको होटल व्यवसायीहरु बताउँछन् । कोभिडपछी शुन्य भएको पर्यटन क्षेत्र यो बर्षको शुरुबाटै उत्साहजनक रहेको होटल व्यवसायी हरि ओलीले बताउनुभयो । यस्तै रोल्वालिङ उपत्यकामा रहेको च्छोरोल्पा टासिलप्चा पुग्ने आन्तरिक र वाह्य पर्यटकको संख्या पनि उत्साहजनक रहेको गौरीशंकर संरक्षण क्षेत्रले जनाएको छ । भदौदेखि कार्तिकसम्म सो क्षेत्र घुम्न जाने मौषम हो ।

विगु गाउँपालिका–७ मा रहेको टासि छिमे गाछल गुम्बाको पुर्ननिर्माण सकिएको छ । २०७२ सालको भूकम्पले गुम्बालगायत अन्य भवनहरु पूर्ण रुपमा क्षति पुुर्‍याएको थियो । पुरातत्व विभागले पुरानै शैलीमा निर्माण गरेको हो । गुम्बा लगायत अन्य भवन निर्माण कार्य भईसक्दा करिव ७ करोड खर्च लागेको गुम्बाका लामा गेसे साङ्गे शेर्पाले बताउनुुभयो । टाशी छिमे गाछल गुम्बा नेपालकै पुरानो र हिमाली क्षेत्रको आनी पढाउने एक मात्र गुम्बाको रुपमा परिचित छ । गुम्बामा हाल ८५ जना आनीहरु पढ्दै आएका छन् ।

डिभिजन वन कार्यालय दोलखाले फोहोर व्यवस्थापनका लागि भीमेश्वर र जिरी नगरपालिकासहित सिंगटी बजारलाई २ सय वटा डस्टविन सहयोग गरेको छ । पर्यावरण जोगाउने अभियान अन्र्तगत कुहिने र नकुहिने फोहोर संकलनको लागि डस्टविन सहयोग गरेको वन कार्यालयका प्रमुख थीर बहादुर कार्कीले बताउनुभयो । बजार क्षेत्रमा कुहिने र नकुहिने फोहोर राख्नका लागि भीमेश्वर नगरपालिकालाई एक सय, जिरी नगरपालिकालाई ८० र सिंगटी बजारका लागि २० वटा डस्टविन उपलब्ध गराईएको हो ।

दोलखाका सहकारीहरुले आफ्ना शेयर सदस्यहरुलाई सुत्केरी भत्ता दिन थालेका छन् । दोलखाका ३ वटा सहकारीले सुत्केरी भत्ता दिन थालेका हुन् । पोषण खानेकुरा खानका लागि सुत्केरी भत्ता उपलब्ध गराइएको हाम्रो जन कल्याण सहकारीका प्रवन्धक दिपक बस्नेतले बताउनुभयो । सहकारीहरुले प्राण घातक रोग उपचारको लागि शेयर सदस्यहरुलाई एक लाख रुपैयाा बराबरको जीवन बीमा पनि सुरु गर्न गरेका छन् ।



प्रतिक्रिया