कञ्चनपुर डायरी

माघ ६, २०७९ | कञ्चनपुर

माघी पर्व सकिएसंगै थारु समुदायमा बरघर छान्ने चटारो सुरु भएको छ । अहिले थारु वस्तीमा वर्षभरिका कामको लेखाजोखासंगै नयाँ बरघर छान्ने काम भइरहेको छ । सामाजिक कामदेखि गाँघ घरमा हुने विकास निर्माणका काममा बरघरको महत्वपुर्ण भूमिका हुन्छ । माघी सकिएको एक हप्तासम्म बरघर छनौट गरिसक्नुपर्ने कञ्चनपुरको बेदकोट नगरपालिका ६ मन्दिरपुरका बलबहादुर डगौंराले बताउनुभयो । समुदायमा हुने विवाह ब्रतबन्ध लगायत धार्मिक क्रियाकलाप सबैमा बरघरकै निर्णय महत्वपुर्ण हुन्छ । समुदायमा हुने सडक तथा कुलो निर्माणको काममा श्रमदान आदीका लागि पनि बरघरको भूमिका महत्वपुर्ण हुन्छ ।  

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा ६३ प्रजातीका हिउँदे आगन्तुक जल पंक्षी भेटिएका छन् । पुस अन्तिम साता निकुञ्ज र आसपासका ताल तलैयाहरुमा गरिएको गणनामा ६३ प्रजातीका ७ हजार बढी हिउँदे आगन्तुक जलपंक्षी भेटिएका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र र बाहिरका तालहरुमा गरिएको गणनामा विश्वमै दुर्लभ मानिएका चरासम्म रहेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष, निकुञ्ज प्रशासनलगायत संरक्षणका क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाका प्राविधिकहरुको टोलीले चराको गणना गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाटा संरक्षण कार्यक्रमकाजन्यजन्तु प्राविधिक देवराजजोशीले बताउनुभयो । 

कञ्चनपुरमा सवारी दुर्घटना दिनप्रति दिन बढ्दो अवस्थामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । एक महिनाको अवधीमा मात्रै ८ दुर्घटना भएको, जसमा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । अनियन्त्रित गति, सवारी साधनको बढ्दो चाप आदीका कारण दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा पुससम्म मात्रै ३३ दुर्घटनामा २६ जनाले ज्यान गुमाएका छन् ।  

कञ्चनपुरमा ढिलो गरि खरिद सुरु गरेको खाद्य संस्थानले लक्ष्य अनुसार धानपाउन सकेको छैन । कृषकहरुले धान बिक्री गरिसकेपछि खरिद सुरु गरेका कारण लक्ष्यअनुसार खरिद हुन नसकेको हो । १४ हजार क्विण्टल धान खरिदको अनुमति पाएको संस्थानको महेन्द्रनगर स्थित कार्यालयले एक महिनामा २८ सय क्विण्टल माक्रै धानखरिद गर्न सकेको छ । अहिले कृषकहरुबाट बित्रीका लागि धान आउने क्रम निकै कम भएको छ । धान पहिले नै बिक्री भइसकेकाले अहिले संस्थानमा नआएको खाद्य व्यापार तथा कम्पनी लिमिटेडको महेन्द्रनगर कार्यालयका निमित्त प्रमुख तपेन्द्र उपाध्यायले बताउनुभयो ।

हवस्त, कञ्चनपुर डायरी आजलाई यत्ति नै भवानी भट्ट बिदा हुन्छु नमस्कार 


प्रतिक्रिया