कैलाली डायरी

फाल्गुन ३०, २०७९ | कैलाली

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक विकास र स्वावलम्वनमा उदाहरणीय काम गरेको भन्दै महिला अटो चालकलाई सम्मान गरेको छ । प्रदेश सरकारले एक विशेष कार्यक्रमको आयोजना गरी कैलालीका ६ जना महिला अटो चालकलाई सम्मान गरेको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले जनही १० हजार रुपैयाँसहित दोसल्ला ओढाइ उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा अटो चालक भगवती कुंवर, सविता चौधरी, छुटमनिया चौधरी, इश्वारी नाथ मिरादेवी चौधरी र वाग्मती चौधरी छन् ।

अत्तरिया–धनगढी ६ लेन सडकमा उपमहानगरले लगाएका बिरुवा नै चोरी हुन थालेका छन् । सडक सौन्दर्य र पर्यावरणीय महत्व राख्न उपमहानगरले ६ लेन सडकको १६ किलोमिटर क्षेत्रमा बिरुवा रोपेको थियो । ६ लेन सडक खण्डमा यसअघि पनि बिरुवा चोरी भएको उपमहानगरले जानकारी दिएको छ । उपमहानगरको वडा नं ३ र ४ मा पर्ने त्रिभुवन चौक नजिक यसरी बिरुवा चोरी हुन थालेका हुन् । उपमहानगरले सडकको मेडियनमा अहिलेसम्म ३ हजार ९० बिरुवा लगाएको छ । बिरुवाको सुरक्षाका लागि सडक मेडियनमा तारजाली गरेपनि बिरुवा चोर्ने क्रम भने रोकिएको छैन ।

कैलाली कञ्चनपुरमा मात्र बसोबास गर्दै आएका आदिवासी राना थारु समुदायले आज होलीको अन्तिम दिन खखडेरा पर्व मनाएका छन् । ३८ दिनसम्म राना थारुहरुले आफ्नो जातीय संस्कार अनुरुप होली पर्व मनाउने गरेका छन् । होरीको अन्तिम दिन आज खखडेहरा पर्व मनाएपछि राना थारुहरुको होली विधिवत रुपमा समापन हुने गरेको राना थारु समाजका केन्द्रीय उपाध्यक्ष कमल रानाले वताउनुभयो । माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म राना थाहरुले जीवित होरी र त्यसपछिका ८ दिनसम्म मृत होरी मनाउने गरेका छन् ।


प्रतिक्रिया