सुन हालसम्मकै महँगो, तोलाको ७७ हजार ६ सय

फाल्गुन ८, २०७६ | काठमाडौं

नेपाली बजारमा सुन आज हालसम्मकै महँगो भएको छ । प्रतितोला ५ सय रुपैयाँले बढेर सुनले आज नयाँ रेकर्ड कायम गरेको हो । सुनको मूल्य बढेर प्रतितोला ७७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि हिजो सुनको मूल्य प्रतितोला ७७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी पनि हिजोको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर ९ सय १५ रुपैयाँ पुगेको छ । साताको पहिलो दिन गत आईतबार सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

गत आइतबारबाट लगातार उकालो लागेको सुनको भाउ साताको अन्तिम दिनपनि तोलाको ४ सय रुपैयाँले बढेर ७७ हजार ६ सय रुपैयाँ पुगेको हो । 

अमेरिका र चीनको बीचको व्यापारिक युद्ध तथा अमेरिका र मुस्लिम राष्ट्रबीचको तनाव पूर्ण रुपमा अन्त्य नभएकाले सुनको भाउ उकालो लागेको सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताउनुभयो । पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणले पनि सुन बजार प्रभावित भएको उहाँले बताउनुभयो । 

विश्वकै दोश्रो ठूलो अर्थतन्त्र भएको चीन, झण्डै २ महिनायता कोरोना भाइरसको संक्रमणसँग जुझिरहेका कारण त्यहाँको उद्योग, व्यापार, व्यवसाय लगायत सम्पूर्ण अर्थतन्त्रमा परेको प्रभावको असर सुनमा देखिएको उहाँको भनाई थियो । सुनको भाउ निरन्तर उकालो लागेसँगै कारोबार भने ठप्प भएको महासंघले जनाएको छ । 

सुनको मूल्य उकालो लाग्ने क्रम नरोकिएर आफूहरुको व्यवसाय नै धरासायी हुने महासंघका पूर्व अध्यक्ष शाक्यको भनाई थियो । 


प्रतिक्रिया