शेयर बजारमा नयाँ रेकर्ड

फाल्गुन ११, २०७६ | काठमाडौं

धितोपत्र बजारमा आज हालसम्मकै ठूलो कारोबार भएको छ । बजार खुलेको दिन नेप्से परिसूचकमा उछाल आएसंगै कारोबार समेत साढे ३ अर्ब नाघेको छ । नेप्से ६९ दशमलव ५६ अंकले बढेर १ हजार ५ सय ४ अंकमा पुगेको छ । 

आज ३० हजार ४ सय ५६ कारोबारबाट ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३ सय ५४ रुपैयाँ बराबरका ८७ लाख ६९ हजार ५ सय २२ कित्ता शेयर किनबेच भए । आजको कारोबार रकम र कारोबार संख्या हालसम्मकै उच्च हो । सबै कम्पनी समुहको उपसूचकमा सुधार आएपछि समग्र बजार प्रभावित बनेको हो । 

केही दिनयता लघुवित्त र विमा समुहको कारोबार मात्र बढिरहेकोमा आज बैंकिङ समुहको कारोबारमा समेत उल्लेख्य वृद्धि भएपछि बजारमा ठूलो सुधार आएको शेयर विश्लेषक अम्बिका पौडेलले बताउनुभयो । नेप्से लामो समयसम्म तल्लो विन्दुमा रहेको र माथि उक्लन खोजिरहेको समयमा धितोपत्र बजारमा ल्याइएका सुधारका कार्यक्रम तथा बैकिङ तरलता सहज भएकाले पनि लगानीकर्ताहरु यसतर्फ आकर्षित भएको पौडेल बताउनुहुन्छ ।

शेयर बजारप्रति त्यती सकारात्मक नदेखिएका अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल नलम्बिने राजनीतिक हल्लाले समेत बजारमा प्रभाव पारेको हुनसक्ने शेयरसम्बन्धी जानकारहरुको अनुमान छ । 


प्रतिक्रिया