बुटवलमा जग्गा भाडामा लिएर खेती गर्नेलाई अनुदान

जेष्ठ ११, २०७७ | बुटवल

खाली जग्गामा खेती गर्ने र व्यवसायिक कृषिमा युवालाई आकर्षण गर्न भन्दै रुपन्देहीको बुटवल उपमहानगरपालिकाले जग्गा भाडामा लिएर खेती गर्न चाहनेलाई अनुदान कार्यक्रम सञ्चालन गरेको छ ।

यसका लागि कम्तिमा चार देखि २२ कट्ठासम्म जग्गामा खेती गर्नुपर्ने छ । जसमा प्रति कट्ठा एक हजार रुपैयाँका दरले भाडामा अनुदान दिइएको नगरप्रमुख शिवराज सुवेदीले बताउनुभयो ।

जग्गा भाडामा अनुदान अन्तर्गत अहिलेसम्म २५ जनाले खेती गरेका छन् । लकडाउन यता १३ जनाले जग्गा भाडामा लिएर खेती गर्ने भन्दै सम्झौता गरिसकेको कृषि विकास शाखा प्रमुख सन्तोष कुमार जिसीले जानकारी दिनुभयो । 

किसानले तोकिएको जग्गामा खेती लगाएपछि मात्रै अनुदान रकम दिने गरिएको छ । उपमहानगरले व्यवसायिक कृषिमा आकर्षण बढाउन किसानका लागि समूह गठन, परिचालन, प्राविधिक सहयोग देखि अनुदान हुँदै फसल धितो राखेर सुलभ ऋण दिनेसम्मका कार्यक्रम ल्याएको छ ।  


प्रतिक्रिया