प्रदेश १ मा आइतबार सम्ममा ५१ प्रतिशत रोपाइँ सम्पन्न

असार २१, २०७७ | मोरङ

यस वर्ष समयमै मनसुन सक्रिए भएका कारण किसानले धमाधम खेत रोपाइँ गरिरहेका छन् । प्रदेश १ मा आइतबार सम्ममा ५१ दशमलव १४ प्रतिशत धान रोपाइँ भएको छ । 

प्रदेशका धान खेती योग्य ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफल मध्ये १ लाख ७४ हजार ३ सय ६ दशमलव २३ हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गत वर्ष सोही अवधिमा २८ दशमलव १६ प्रतिशत मात्रै रोपाइँ भएको थियो ।

तराईका २ लाख २५ हजार ८ सय हेक्टर क्षेत्रफल मध्ये ५६ दशमलव शून्य ३ प्रतिशत अर्थात् १ लाख २६ हजार ५ सय २०, पहाडी क्षेत्रको ९० हजार ९ सय १६ हेक्टर मध्ये ४४ दशमलव ६० प्रतिशत अर्थात् ४० हजार ५ सय ५२ प्रतिशत रोपाइँ भएको छ । 

यस्तै, हिमाली जिल्लाको २४ हजार १ सय १३ हेक्टर मध्ये ३० प्रतिशत अर्थात् ७ हजार २ सय ३४ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

सबैभन्दा बढी सोलुखुम्बुमा ७५ प्रतिशत, मोरङमा र तेह्रथुममा ६५, र सबै भन्दा कम संखुवासभामा २० प्रतिशत मात्रै रोपाइँ भएको मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताउनुभयो । सुनसरीमा ६०, खोटाङमा ५५, धनकुटामा ५०, झापा, इलाम, भोजपुरमा ४५, ताप्लेजुङमा ३८, पाँचथरमा ३२, उदयपुरमा ३१ र ओखलढुंगामा २२ प्रतिशत रोपाइँ भएको उहाँको भनाई छ ।

गत आइतबार सम्ममा ५ प्रतिशत मात्रै खेत रोपाइँ भएकामा कोरोना भाइरसबाट प्रभावित झापामा एक हप्तामा ४० प्रतिशत रोपाइँ भएको उहाँले बताउनुभयो । जिल्लागत रुपमा सबै भन्दा बढी ८७ हजार ५ सय हेक्टरमा धान खेती हुने झापास्थित सबै स्थानीय तहमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोले खेत रोपाइँमा किसानलाई समस्या भएको उप्रेतीको भनाई छ । 


प्रतिक्रिया