रोजगारी सिर्जना गर्न सामूहिक लगानी आवश्यक : चेम्बर अध्यक्ष मल्ल

माघ १, २०७९ | काठमाडौं

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको बेरोजगारीको अवस्थालाई अन्त्य गर्न सामूहिक पहल गर्नुपर्ने बताउनुभएको छ । पोखरा चेम्बर अफ कमर्स कास्कीको चौथो साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले सामूहिक लगानी मार्फत उद्यमशिलता वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभएको हो ।

‘आर्थिक विकास र समृद्धिका लागि बेरोजगारी समस्या प्रमुख चुनौतीका रुपमा खडा भएको छ’, अध्यक्ष मल्लले भन्नुभयो, ‘प्रत्येक वर्ष ५ लाख युवा श्रम बजारमा प्रवेश गर्छन तर रोजगारीको अवसर नपाउँदा विदेशिन बाध्य भईरहेका छन् ।’ 

उद्योग तथा साना व्यवसायमा सामूहिक लगानी मार्फत नयाँ रोजगारी सिर्जना गर्नका लागि निजी क्षेत्र र सरकारबीच हातेमालो गर्न आवश्यक रहेको अध्यक्ष मल्लले बताउनुभयो । कृषि, पर्यटन, एवं साना उद्योगमा रोजगारी सिर्जना गर्ने सकिने अध्यक्ष मल्लको भनाई छ । 

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई अतिरिक्त समयमा रोजगारी सिर्जना गराउने गरी योजना बनाउन अध्यक्ष मल्लले सरकारको ध्यानाकर्षण गराउनुभयो । 

विद्यार्थीले विश्वविद्यालयमा पठनपाठनसँगै कृषि, सूचना प्रविधि एवं औद्योगिक क्षेक्रमा अतिरित्त समयमा काम गर्न सक्ने वातावरण बनाईदिने हो भने मुलुकको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अध्यक्ष मल्ल जोड दिनुभयो । सामूहिक लगानी मार्फत आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्न सकिने अध्यक्ष मल्लको तर्क छ । 


प्रतिक्रिया