पेट्रोलियम पदार्थको मूल्यवृद्धि, प्रतिसिलिण्डर २११० रुपैयाँ पर्ने

आश्विन १३, २०८० | काठमाडौं
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँले मूल्य वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १ सय ८५ रुपैयाँ पर्ने निगमले जनाएको छ । यस्तै, डिजेल र मट्टितेलमा प्रतिलिटर १ सय ७९ रुपैयाँ लाग्ने विज्ञप्तिमा उल्लेख छ ।
खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २ सय १५ रुपैयाँले वृद्धि भएर २ हजार १ सय १० रुपैयाँ पुगेको निगमले जनाएको छ । यस्तै, हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको स्वचलित मूल्य प्रणाली मार्फत पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको निगमले जनाएको छ । सो मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ ।