सरकार र इन्धन बोक्ने ट्यांकरका चालकहरुबीच सिंहदरवारमा वार्ता

असार ३, २०८१ | काठमाडौं

सरकार र विभिन्न माग राखेर विरोधमा उत्रिएका पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरका चालकहरुबीच सिंहदरवारमा वार्ता भईरहेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघका प्रतिनिधिबीच माग सम्बोधनका विषयमा सहमतिका लागि छलफल भईरहेको हो । 

ट्यांकर चालकहरु विभिन्न ७ बुँदे माग राखेर शनिबारदेखि विरोधमा उत्रिएपछि काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । ट्यांकर चालकहरुले पेट्रोलियम पदार्थ नउठाएपछि उपत्यकाका निजी पेट्रोल पम्पहरु बन्द भएका छन् । 

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्दा उपत्यकामा पेट्रोलियम पदार्थको अभाव देखिएको हो । सोही विषयमा सहमति जुटाउन उद्योग मन्त्रालयमा अहिले सरकार र संघका प्रतिनिधिबीच वार्ता भईरहेको हो । 

चालक, सहचालकले श्रम ऐन अनुसार तलब, जोखिम भत्ताको व्यवस्थापन, सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनुपर्ने लगायत ७ बुँदे माग राखेर उनीहरुले हिजो आयल निगमको थानकोटस्थित डिपोबाट इन्धन उठाएनन् ।

संघको माग निगमको केन्द्रीय कार्यालय र पेट्रोलियम ढुवानी व्यवसायी महासंघ सम्बद्ध छ । तर, सरकारलाई दबाब दिन चालकले थानकोट डिपोबाट इन्धन नउठाएका हुन् । 

इन्धनको आपूर्तिमा असहज भएपछि केन्द्रीय कार्यालयबाट नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइत, नायब कार्यकारी निर्देशक दीपक बराल, निर्देशक पूर्ण रिजाल र उपनिर्देशक मनोज ठाकुरसहितको टोली थानकोट पुगेर वार्ता गरेपनि सफल हुन सकेन । 

आफूहरुको माग सम्बोधनका लागि नेपाल आयल निगम र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पटक पटक अनुरोध गर्दा पनि कुनै सुनुवाई नभएको भन्दै विरोत्रमा उत्रिन बाध्य भएको संघका अध्यक्ष इश्वर लामाले बताउनुभयो । 


प्रतिक्रिया