युरो कपमा इंग्ल्याण्ड र स्लोभेनियाबीच गोलरहित बराबरी

तस्बिर रोयटर्स 

असार १२, २०८१ | काठमाडौं

इंग्ल्याण्डले युरो कप फुटबलमा स्लोभेनियासँग गोलरहित बराबरी खेलेको छ । जमर्नीको कोलोनमा गएराति भएको समूह ‘सी’को अन्तिम खेलमा इंग्ल्याण्डले स्लोभेनियासँग गोलरहित बराबरी खेलेको हो । 

इंग्ल्याण्ड स्लोभेनिया विरुद्ध हाबी भएपनि गोल गर्न भने सकेन । यो नतिजासँगै इंग्ल्याण्ड तीन खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रह्यो । इंग्ल्याण्ड यसअघि नै युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गरिसकेको छ ।

यस्तै, गएराति नै भएको समूह सीको अर्को खेलमा डेनमार्कले सर्बियासँग गोलरहित बराबरी खेलेको छ । डेनमार्कले पहिलो हाफमा गोलको अवसर सिर्जना गरेपनि सदुपयोग गर्न भने सकेन। 

यो नतिजासँगै डेनमार्क र स्लोभेनियाले पनि अन्तिम १६ मा स्थान बनाएका छन् । सर्बिया भने समूह चरणबाट बाहिरिएको छ । डेनमार्क तीन अंकसहित समूह ‘सी’को दोस्रो स्थानमा र समान ३ अंक भएको स्लोभेनिया तेस्रो स्थानमा रह्यो । दुवै टोलीको समान ३÷३ अंक भएपनि कम पहेँलो कार्डका आधारमा डेनमार्क समूह उपविजेता बन्यो । सर्बिया २ अंकका साथ समूहको पुछारमा छ ।

यस्तै, अष्ट्रियाले समूह ‘डी’ को विजेताको रुपमा युरो कपको फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । लिग चरणको अन्तिम खेलमा अष्ट्रियाले नेदरल्यान्ड्सलाई ३–२ ले पराजित गर्दै समूह विजेता बनेको हो । 

समूह ‘डी’को अर्को खेलमा फ्रान्स पोल्यान्डसँग १–१ को बराबरी खेलेका छन् । यो नतिजापछि अस्ट्रिया ६ अंकसहित शीर्ष स्थानमा रह्यो भने फ्रान्स पाँच अंकमा दोस्रोमा स्थानमा रहेको छ । यस्तै नेदरल्यान्ड्स चार अंकमा तेस्रो स्थानमा झ¥यो । नेदरल्यान्ड्स पनि उत्कृष्ट तेस्रो स्थानमा पर्ने टिमबाट अर्को चरण पुगेको छ । 


प्रतिक्रिया