उम्मेदवारसँग इलामबासीको माग : कृषि र पर्यटनमा ध्यान दिनुस्

कार्तिक ३०, २०७४ | इलाम

-कृषि र पर्यटनमा प्रचुर सम्भावना भएपनि उपयोग नहुँदा इलामको आर्थिक स्तर जति बढ्नुपर्ने हो त्यति छैन । इलाममा अदुवा, चिया, अलैंची, आलुु, अम्लिसो, अकबरे लगायत नगदेबालीबाट बार्षिक करीब ३२ अर्ब आम्दानी हुन्छ ।

तर यो आम्दानी सम्पुर्ण रुपमा कृषकको मिहिनतमा मात्र सीमित छ । कृषि उत्पादन र पर्यटन बिस्तारमा लगानी बढाएर इलामलाई समृद्धिको दिशामा लम्काउने र देशको अर्थतन्त्रको टेवा पुर्‍याउनेलाई यसपटक आफ्नो प्रतिनिधि चुन्ने योजनामा जिल्लाका कृषक छन् । 

प्रमुख नगदेबाली अदुवाखेतीमा गुणस्तर कायम गर्न नसक्दा किसानहरु मारमा परेका छन् । अस्पष्ट सरकारी नीति र कृषिमा हावी हुने बिचौलीयाका मारमा अदुवा व्यापार चेपिएको  बताउँछन्, अदुवा कृषक कृष्ण पौडेल,  विगतका बर्षमा १५ सय रुपैंया मन बिकेको अदुवा अहिले ७/८ सय प्रति मन बिक्न पनि मुस्किल परेको अनुभव उनको छ । यसको प्रमुख कारण नेपालको अदुवाले भारतीय अदुवासँग प्रतिस्पर्धा गर्न नसक्नु हो ।

नेपालमा उन्नत जातको बीउ नहुँदा उत्पादन भएका अदुवाको गुणस्तर खस्किने भएकाले भारतीय बजारमा प्रतिस्पर्धा गर्न कठिन हुने गरेको उनी बताउँछन् । कृषकलाई अदुवा खेतीमा प्रोत्साहन गर्नका लागि अनुदान प्रदान गर्नुका साथै अदुवा प्रशोधन केन्द्र खोल्न पहलकदमी लिनुपर्नेमा उनी जोड दिन्छन् ।

सुर्योदय नगरपालिकामा चिया टिपिरहेकी पासाङ डोमा शेर्पाले आसन्न चु्नावमा उम्मेदवार बनेकाबाट त्यतिधेरै आशा राखेकी छैनन्, उनी नेताहरुप्रति आक्रोशित हुँदै भन्छिन्, “नेताहरुले हामीलाई सुविस्ता त केही दिएका छैनन् । भोट माग्न आउँछन् ,फकाउँछन् तर भोट पाएपछि फर्केर नि हेर्दैनन् ।”

गोर्खा टी स्टेट सञ्चालक उदय चापागाई भने आशावादी छन् ।

इलामको चियालाई गुणस्तरीय बनाई विदेश निर्यात गर्नसके आर्थिक समृद्धि टाढा छैन उहाँको नजरमा। “हामीसँगको चियालाई अर्गानिक बनाउन सरकारले समेत सहयोग र प्रोत्साहन गर्ने हो भने इलाममा बार्षिक उत्पादन हुने ५० लाख किलो चिया शतप्रतिशत तेस्रो देशमा पुर्‍याउने संभावना छ उनी भन्छन्, तर त्यसको लागि ३ प्रतिशत पनि काम गर्न सकेका छैनौँ । ”

अदुवा, चिया, अलैंची, आलुु, अम्लिसो, अकबरे लगायत नगदेबालीलाई पुर्ण व्यावसायीक बनाउने र इलामको प्राकृतिक सुन्दरतामा पर्यटकको ध्यान खिच्न सक्ने उम्मेदवारको जितले जिल्लाको आर्थिक समृद्धिको भाग्यभविष्य कोर्ने इलाम उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द प्रसाद कट्टेलको धारणा छ ।  राष्ट्रिय लगानीबाट इलाम बञ्चित छ । यहाँको पर्यटकीय पुर्वाधार विकास गर्ने र यहाँबाट निकासी हुने कृषि उपजको बजार प्रवद्र्धनको लागि सहयोग गर्ने खालका उम्मेदवारहरुलाई जनताले जिताउनुपर्नेमा उनी जोड दिन्छन् ।

इलामको कृषि क्षेत्रमा सरकारको बार्षिक लागानी ५ करोड हाराहारी छ । जबकी जिल्लाले  कृषिबाट गर्ने आम्दानी बार्षिक करीब ३२ अर्ब छ । प्रदेश र प्रतिनिधीसभाको निर्वाचनमा उठेका उम्मेदवारले अरु विकासे नारालाई पन्छाएर कृषि र पर्यटन विकासमा ध्यान पुर्‍याउन सके इलामको आर्थिक उन्नति दिन दुगुना रात चौगुनाको रफ्तारमा अघि बढ्नेमा कुनै शंका छैन । तर, यसका लागि इलामेलीले पनि उम्मेदवार छान्न प्रशस्तै गृहकार्य गनुपर्ने छ ।

 


प्रतिक्रिया