हिमाचलमा भाजपा र कांग्रेसबीच टक्कर

कार्तिक २६, २०७९

भारतको पहाडी र हिमाली क्षेत्र रहेको हिमाचल प्रदेशमा शनिबार विधानसभाका लागि मतदान भएको छ । ६८ निर्वाचन क्षेत्रमा ४ सय १२ जना प्रतिस्पर्धी छन् । ५५ लाख मतदाता छन् । हिमाचलमा भाजपा नेतृत्वको सरकार छ । त्यहाँ भाजपा र विपक्षी कांग्रेसबीच प्रतिस्पर्धा छ । प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा पार्टी अध्यक्ष जेपीनड्डा, गृहमन्त्री अमित शाह सहितका नेताहरु पार्टीलाई जिताउन प्रचारप्रसारमा जुटेका थिए । त्यस्तै कांग्रेस नेतृ प्रियंका गान्धीको नेतृत्वमा पार्टी नेताहरु प्रचारमा थिए । आम आदमी पार्टी पनि चुनावी प्रतिस्पर्धामा छ । तर, आपले यस पटक हिमाञ्चलमा आफ्नो ‘स्पेस’मात्रै बनाउने गरी प्रचार प्रसार गरेको देखिएको छ । मत गणना भने एक महिनापछि डिसेम्बर ८ मा मात्रै हुने छ । यही महिना गुजरातमा समेत विधान सभा चुनाव हुने भएकाले आयोगले दुवै प्रदेशको गणना एकै साथ गर्ने तिथी सार्वजनिक गरेको छ । हिमाचलमा प्रत्येक पाँच वर्षमा सरकार फेरिने चलन देखिएको छ । विपक्षमा रहेको कांग्रेस त्यसको लाभमिल्ने आशा गरेको छ ।

त्यस्तै, टिकट वितरणमा भएको असन्तुष्टिीका कारण भाजपा भित्र दर्जनौं ठाउँमा बागी उम्मेदार छन् । अर्कोतिर, कर्मचारी तथा पूर्व कर्मचारी बाहुल्य रहेको हिमाचालमा कांग्रेसले पूरानो पेन्सन योजना ल्याउने घोषणा गरेर सो वर्गलाई आकर्षित गरेको छ । अहिले कर्मचारीको योगदानमा आधारित पेन्सन योजनाबाट कर्मचारी वर्ग असन्तुष्ट छन् । भाजपा अध्यक्ष नड्डाको गृह प्रदेश रहेकाले उनी समेत शीर्ष नेताहरु कुनै पनि हालतमा आफ्नो शक्ति गुम्न नदिने गरी पूरा मेहनत गरेका छन् । कांग्रेसले सो प्रदेश हत्याउन र भाजपाले प्रदेश जोगाउन प्रयत्न गरेका छन् । सन् १९८५ यता भएका सबै निर्वाचनमा ५ वर्षपछि फरक पार्टीको सरकार बनेको छ । पालैपालो कांग्रेस र भाजपाले सरकार बनाउँदै आएको छ । १९८५ मा कांग्रेस, १९९० मा भाजपा, १९९३ मा कांग्रेस, १९९८ मा भाजपा, २००३ मा कांग्रेस, २००७ मा भाजपाको सरकार बनेको थियो । त्यस्तै, २०१२ मा कांग्रेस र २०१७ यता भाजपाको सरकार छ । त्यही परम्परा कायम रहे कांग्रेसले सरकार बनाउन सक्छ । तर, उत्तराखण्डको यस्तै परम्परा यसवर्ष तोडिएको थियो । त्यहाँ भाजपाले लगातार दोस्रो पटक सरकार बनाइसकेको छ । सरकारले राम्रो काम गरेकाले उत्तराखण्डकै अभ्यास हिमाचालमा पनि दोहरिने भाजपा नेताहरुको दावी गर्दै आएका छन् । 


प्रतिक्रिया