गाजा क्षेत्रका बालबालिकालाई पोलियो विरुद्वको खोप लगाउन सुरु
भाद्र १६, २०८१ | काठमाडौं
प्यालेष्टाइनको गाजा क्षेत्रका बालबालिकालाई पोलियो विरुद्वको खोप लगाउने अभियान सुरु भएको छ ।
खोप अभियान केन्द्रीत हुँदै इजरेल र हमाससेनाले आगामी ३ दिनसम्म युद्वविराम गरेका छन् । खोप अभियानमा ६ लाख ४० हजार बालबालिकालाई समावेश गर्ने लक्ष्य राखिएको छ ।
गाजा क्षेत्रमा अघिल्लो साता एक जना शिशुमा पोलियो संक्रमण देखिएछि खोप कार्यक्रम सुरु गरिएको हो । २५ वर्षपछि पहिलो पटक देखिएको पोलियो संक्रमण नियन्त्रणका लागि सबै बालबालिकालाई खोप अभियानमा सहभागी गराउने लक्ष्य राखिएको विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रतिनिधिले जनाएका छन् ।
विहान ६ बजेदेखि अपरान्ह ३ बजेसम्म युद्वविराम हुने र सोही समयमा पोलियोको खोप लगाइने डब्लूएचओले जनाएको छ । औपचारिक रुपमा आजबाट सुरु भएपनि मध्य गाजा क्षेत्रका १० जना बालबालिकालाई हिजो नै खोप लगाइएको थियो । बालबालिकालाई खोप लगाउने क्रममा स्थानीयमा युद्वको त्रास रहेको जनाइएको छ ।