गाजामा थप ६ हप्ता अस्थायी युद्धविराम गर्ने इजरायलको तयारी

फाल्गुन १८, २०८१ | काठमाडौं
इजरायली सरकारले गाजा क्षेत्रमा थप ६ हप्ता अस्थायी रुपमा युद्धविराम अगाडि बढाउने भएकोे छ । मुस्लिम समुदायको रमजान र यहूदी निस्तार चाडको अवधिलाई समेटेर इजरायलले गाजा क्षेत्रमा युद्धविरामको अस्थायी विस्तारलाई अनुमोदन गरेको हो ।
यसअघि भएको युद्धविरामको पहिलो चरणको म्याद शनिबार मध्यरातमा सकिएपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले सो घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । नेतान्याहूको कार्यालयले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विट कफको युद्धविराम प्रस्ताव अन्तर्गत गाजा क्षेत्रमा हमासद्वारा कैद गरी राखिएका आधा बन्धकलाई रिहा गरिने बताइएको छ ।
स्थायी युद्धविरामको सम्झौता भएमा बाँकी बन्धकलाई पनि मुक्त गरिने बताइएको छ । इजरायलको पछिल्लो कदमबारे हमासले भने सार्वजनिक रुपमा कुनै टिप्पणी गरेको छैन । प्रधानमन्त्री नेतान्याहूले बोलाएको चार घण्टाको बैठकपछि सरकारले युद्धविराम विस्तारलाई समर्थन गरेको थियो ।