युक्रेनको क्षेत्रलाई थप विस्तार गर्ने चेतावनी

पुस ३, २०८२ | काठमाडौं

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो चाहनाअनुसार शान्ति वार्ता अगाडि नबढेमा रुसको नियन्त्रण भएको युक्रेनको क्षेत्रलाई थप विस्तार गर्ने चेतावनी दिनुभएको छ । 

उहाँले द्वन्द्व भन्दा पनि त्यसको मूल जरा हटाउने आफ्नो मूल उदेश्य भएकोले यदि वार्तामा ठोस सम्वाद नभए रुसले आफ्नो ऐतिहासिक भूभाग सैन्य बलका साथ लिने बताउनुभएको हो । 

राष्ट्रपति पुटिनले वरिष्ठ सैन्य कमान्डरहरूको वार्षिक बैठकलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले मस्कोले सीमासँगै बफर सुरक्षा क्षेत्र पनि विस्तार गर्ने भन्दै चेतावनी दिनुभएको छ । 

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा पूर्णकालीन आक्रमण पछि करिब चार वर्षको लडाई अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक कूटनीतिक दबाबकाबीच पुटिनको यस्तो प्रक्रिया आएको हो । 

यद्यपि, मस्को र कीभको तीव्र विवादास्पद मागकाबीच वाशिंगटनको प्रयास फितलो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  


प्रतिक्रिया