नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील बन : मानव अधिकार आयोग

माघ १०, २०७८ | काठमाडौं

कोरोना संक्रमण तीब्र गतिमा फैलिरहेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ । 

आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा गृह र स्वास्थ्य मन्त्रालयका अधिकारीसँग छलफल गर्दै नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील बन्न सरकारलाई आग्रह गरेको हो । 

आयोगले बिना खोप कार्ड सार्वजनिक स्थलमा प्रवेश गर्न नपाइने व्यवस्थाले सर्वसाधारणको मानव अधिकारको उपभोगमा परेको असर, सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्दा भीड झनै बढ्न सक्ने अवस्था र सीमा क्षेत्रमा आवतजावतको व्यवस्थापन लगायत विषयमा थप ध्यान पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएको हो ।

छलफलमा आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले गरेको कडाईले नागरिकको मानव अधिकार हनन हुनेतर्फ सचेत रहन आग्रह गर्नुभएको थियो ।

त्यस्तै, महामारी नियन्त्रणका लागि सरकारबाट भइरहका प्रयास र तयारी बारे जानकारी लिंदै आयोगले सबै नागरिकलाई खोप उपलब्ध गराउन र सिटामोलको आभाव तत्काल हटाउन पनि ध्यानाकषर्ण गराएको छ ।

त्यस्तै, तेस्रो मुलुकबाट नेपाल प्रवेश गरेका व्यक्तिको सेल्फ क्वारेन्टिन तथा अनुगमन व्यवस्था, सार्वजनिक सेवाको लागि खोप कार्ड अनिवार्य गर्ने व्यवस्थाले सेवाग्राहीको मानव अधिकारको उपभोगमा पर्ने असर तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत अग्रपंक्तिमा खटिने कर्मचारीको मनोबल उच्च राख्न, उनीहरुले पाउनुपर्ने सेवा सुविधाको बारेमा छलफल भएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिनुभयो ।


प्रतिक्रिया