आवधिक चुनावका लागि दलहरुको तयारी तीब्र

श्रावण २०, २०७९

मंसिरमा चुनाव हुने भएपछि दलहरुले गरीरहेको अनौपचारिक तयारीलाई औपचारिक रुप दिएका छन् । स्थानीय चुनावको परिणामबाट हौसिएका गठबन्धन दलहरु आगामी निर्वाचनमा पनि आशातित नतिजा आउनेमा ढुक्क छन् । गठबन्धन गरेर जाने निर्णयसँगै विचार मिल्ने अन्य दलसँग समेत मिलेर जान सकिने उनीहरुको बुझाइ छ । जनता समाजवादी पार्टीका नेता मनिष कुमार सुमन सत्ता गठबन्धनभित्र मिलेर जाने सहमति भएपनि मधेश केन्द्रीत दलहरुसंग पनि मिलेर जान सक्ने संकेत गर्छन् ।

२०७४ सालमा एमालेको साथ लिएर चुनाव लडेको त्यतिवेलाको माओवादी अहिले गठबन्धनमा राम्रै हिस्सा लिएर प्रतिस्पर्धा गर्ने सोचमा छ । निर्वाचनका लागि माओवादी केन्द्रले आन्तरिक तयारी भइसकेको जनाएको छ । पार्टीका नेता अमनलाल मोदी चुनावका लागि तयारी भइसकेको बताउँछन् ।

संविधान जारी भएयता हुन लागेको दोश्रो प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय सरकारले बिहिवार मात्र गरेको हो । यसअघि २०७४ साल मंसिर १० र २१ गते दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न भएको थियो । सत्ता गठबन्धन दल राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसी गठबन्धनको मर्म अनुसार मिलेर जाने बताउँछन् ।

चुनावको मिति घोषणा भएसंगै सत्ता गठबन्धन भित्रैका दलले यसको स्वागत पनि गरेका छन् । सत्ता साझेदार दल एकीकृत समाजवादीका नेता बेदुराम भुषाल गठबन्धनमै रहेर पार्टीले चुनाव लड्ने तयारी गरेको बताउँछन् ।

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा भएको गठबन्धनबाट धेरै सिटमा जित हासिल गर्न सफल बन्यो । अहिले पनि स्थानीय तहको नतिजा जस्तै आउनेमा कांग्रेस ढुक्क छ । कांग्रेस नेता भिमसेन दास प्रधान पार्टीले गठबन्धनलाई जोगाउने हिसावले तालमेल गर्ने बताउँछन् ।

यसअघिको चुनावमा पहिलो दल बन्नेको अहिलेको प्रमुख प्रतिपक्षी दल एमाले जोडतोडका साथ चुनावका लागि होमिने तयारीमा छ । एमाले नेता शेर बहादुर तामाङ पार्टीले चुनावको तयारी शुरु गरीसकेको बताउँछन् । पार्टीका नेता कार्यकर्ता उत्साहका साथ निर्वाचनको तायरीमा जुटेको उनको भनाई छ ।

२०७४ साल मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो पार्टी बन्न सफल भएका थिए । एमालेले १ सय २१ , कांग्रेसले ६३ र माओवादी केन्द्रले ५३ सिटमा जित हासिल गरेको थियो । यस्तै तत्कालिन लोकतान्त्रिक समाजवादी पार्टी चौथो र तत्कालिन संघीय समाजवादी पार्टीले पाँचौ स्थान हात पारेको थियो । ५ वर्षको अवधिमा कंग्रेस बाहेकका सबै जसो दल विभाजित भएकाले आगामी निर्वाचनले ल्याउने नतिजाका लागि ठूलै रस्साकस्सी हुने देखिन्छ ।

एमाले, माओवादी केन्द्र र तत्कालिन नयाँ शक्ति पार्टी एकता गरी बाम गठबन्धन गठन गरेको थियो । तत्कालिन नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको निर्वाचन सिट सुनिश्चित नभएपछि गठबन्धन त्याग गर्नुभएको थियो । नेकपा माले र राष्ट्रिय जनमोर्चाले समेत सो गठबन्धनमा प्रवेश गरी केही निर्वाचन क्षेत्रमा तालमेल गरेका थिए । यसपटक भने सत्ता गठबन्धनका ५ दल एकातिर छन् भने एमाले एक्लै अर्कातिर छ ।

आगामी निर्वाचनमा दुईवटा निर्वाचन प्रणालीबाट प्रतिनिधिसभाका २७५ सदस्य र प्रदेश सभाका ५५० सदस्य चयन हुनेछन् । प्रतिनिधिसभाका लागि १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुन्छन् भने सात वटा प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३३० जना र समानुपातिकतर्फ २२० जना निर्वाचित हुनेछन् । प्रत्यक्ष निर्वाचन प्रणालीबाट हरेक निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत ल्याउने एक जना उम्मेदवार निर्वाचित हुन्छन् भने समानुपातिक प्रणालीमा दलहरूले पाएको मतका आधारमा निर्वाचित हुने सांसदहरूको संख्या बाँडफाँट गरिन्छ । अघिल्लो निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नौवटा राजनीतिक दलबाट १६४ जना निर्वाचित भएका थिए । हुम्लामा भने स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए । दलहरूले पाएको सीट संख्याका आधारमा निर्वाचन आयोगमा चुनाव अघि बुझाएको बन्दसूचीका आधारमा समानुपातिक सांसद निर्वाचित हुने व्यवस्था छ । तर समानुपातिकतर्फ सिट ल्याउन प्रतिनिधिसभामा तीन प्रतिशत र प्रदेशसभामा १ दशमलव ५ प्रतिशत मत पाउनुपर्ने प्रावधान छ । 


प्रतिक्रिया