वान डे सिरिजको तेस्रो म्याचमा इन्डियाद्वारा अस्ट्रेलिया ९ विकेटले पराजित
कार्तिक ८, २०८२ | काठमाडौं
इन्डियाले तीन म्याचको एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा अस्ट्रेलियालाई ९ विकेटले पराजित गरेको छ । रोहित शर्मा र विराट कोहलीले दोस्रो विकेटका लागि १ सय ६८ रनको साझेदारी गरेपछि इन्डियाले अस्ट्रेलियामाथि सहज जित हात पारेको हो । सिड्नी क्रिकेट ग्राउन्डमा २ सय ३७ रनको लक्ष्य इन्डियाले १ विकेटको क्षतिमा ३८ औं ओभरमा पुरा गरेको थियो ।
रोहित शर्माले १ सय २१ रनको महत्वपूर्ण योगदान गरेका थिए । अन्तराष्ट्रिय क्रिकेटमा उनको यो ५० औं शतक हो । त्यस्तै, विराट कोहलीले ७४ रनको योगदान गरेका थिए । पहिलो विकेटको रुपमा कप्तान शुभमन गिल २४ रनमा आउट भएका थिए ।
त्यसअघि अष्ट्रेलियाले २ सय ३६ रनको योगफल बनाएको थियो । तेस्रो म्याच इन्डियाले जितेपनि सिरिज भने अस्ट्रेलियाले २–१ ले जितेको छ । अस्ट्रेलियाले पहिलो म्याच ७ र दोस्रो म्याच २ विकेटले जितेको थियो । अस्ट्रेलिया र इन्डियाले अर्को सातादेखि ५ म्याचको टि–ट्वान्टी सिरिज खेल्दैछन् ।








