जाजरकोट भूकम्पका मृतक परिवारलाई सरकारले तत्काल दुई लाख रुपैयाँ राहत दिने
कार्तिक १९, २०८० | काठमाडौं
सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएकाका परिवारलाई तत्काल दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावित जिल्लाका नागरिकलाई सो रकम राहत स्वरुप दिने निर्णय गरेको हो । मन्त्रीपरिषद् बैठकले भूकम्प प्रभावित जिल्लाका घाईतेहरुको निशुल्कः उपचार गर्ने निर्णय पनि गरेको सरकारकी प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो ।
सरकारले भूकम्पबाट विस्थापित भएका परिवारलाई अस्थायी आवास, खाद्यान्न र सुरक्षा प्रबन्ध मिलाउने समेत निर्णय गरेको छ । यस्तै, भूकम्प पश्चात खोज, उद्धार, राहत र घाइतेको उपचारमा खटिने सरकारी निकाय, स्थानीय तह, प्रदेश सरकार, व्यक्ति तथा संघसंस्थालाई धन्यवाद दिंदै जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी यसलाई निरन्तरता दिन सरकारले आग्रह समेत गरेको छ । शहरी विकास मन्त्रालयले एक वर्ष भित्रमा भूकम्प प्रतिरोधात्मक संरचना निमार्ण गर्ने र भौगोलिक अध्ययनपछि मात्रै बस्ती निमार्ण गर्ने निर्णय भएको मन्त्री शर्माले बताउनुभयो ।
यसैबीच गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारी रूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्न लागिएको स्वाथ्य मन्त्री मोहन बहादुर बस्नेतले बताउनुभयो । छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन–कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय गरिने मन्त्री बस्नेतको भनाई छ ।
पहिलो चरणमा उद्धार, दोस्रो चरणमा राहत तथा पुर्नस्थापना एवं तेस्रो चरणमा स्थायी आवासको तयारी भएको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । यसैबीच गृह मन्त्रालयले अनावश्यक रुपमा सहयोग संकलन अभियान सञ्चालन नगर्न आमनागरिकमा अपिल गरेको छ । एकद्वार नीति अन्र्तगत सरकारी खातामै सहयोग गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।