एन्फा महिला फुटबल लिगः पहिलो खेलमा बागमतीविरुद्ध त्रिभुवन आर्मी विजयी
पुस १८, २०८१ | काठमाडौं
एन्फा महिला फुटबल लिगको अन्तिम चरणको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो खेलमा आर्मीले बागमती प्रदेशलाई २–० गोलले पराजित गर्यो । आर्मीको जितमा विमला चौधरीले खेलको पहिलो र दोस्रो हाफमा गोल गरेकी थिइन् ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भएको अन्तिम चरणको लिगमा ५ टोलीले प्रतिस्पर्धा गर्नेछन् । गत भदौ अन्तिममा भएको दोस्रो चरणको लिगमा सहभागी १० टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणका लागि छनोट भएका थिए ।
अन्तिम चरणका लागि छनोट भएको कोशी प्रदेशले आर्थिक कारणले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि छैठौं स्थानमा रहेको बागमती युथ क्लबले अन्तिम चरण खेल्ने अवसर पाएको हो ।
माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागीय टोली नेपाल पुलिस, एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब, स्याङ्जाको वालिङ नगरपालिका र बागमती युथ क्लबले सहभागीता जनाउँदै छन् । भोलि नेपाल पुलिस र वालिङबीच प्रतिस्पर्धा हुनेछ ।