रौतहटमा सरस्वतीको मुर्ति सेलाउने विषयमा झडपः स्थानीय प्रशासनद्वारा कर्फ्यू जारी

फाल्गुन ५, २०८० | काठमाडौं

रौतहटमा सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

ईशनाथ नगरपालिका–७ घिउरा टोलमा सरस्वतीको मूर्ति सेलाउने बिषयमा आज साँझ दुई पक्षबीच झडप भएको थियो । झडपमा केही व्यक्ति घाइते भएका छन् । अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो । उहाँका अनुसार पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मको लागि कर्फ्यू आदेश जारी गरिएको छ ।

घिउरा गाउँका स्थानीयले सरस्वतीको पुजा गरेर हिजो नजिकको पोखरीमा मूर्ति सेलाउन लैजान लागेपछि अर्को पक्षले बाजा बजाएको भन्दै अवरोध सिर्जना गरेको थियो । त्यसपछि मूर्ति सेलाउन जानेहरुले बाटोमै मूर्ति राखेर बसेका थिए ।

स्थानीय प्रशासनको रोहबरमा आज दुबै पक्षलाई राखेर साम्प्रदायिक सद्भाव कायम राख्न अनुरोध गर्दै मूर्ति सेलाउन दिने सहमति भएको थियो । तर केही उच्छृंखल व्यक्तिहरुले ढुंगामुंढा गरेपछि स्थिति तनावग्रस्त बनेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताउनुभयो । झडपमा दुवै पक्षका घाइते भएपनि प्रहरीले त्यसबारे केही नबताएको हाम्रा सहकर्मीले जनाएका छन् । 


प्रतिक्रिया