मधेश केन्द्रित दलहरुबीच सहकार्यको प्रयासः लोसपा र जनमतको कार्यदल गठन
पुस २२, २०८१
पछिल्लो समय मधेश केन्द्रित दलहरुबीच सहकार्यको प्रयास चलिरहेका बेला लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र जनमत पार्टीले कार्यदल गठन गरेका छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले एकताको पहल गर्न वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद सोनारको नेतृत्वमा ५ सदस्यीय कार्यदल बनाएको हो ।
कार्यदलमा अर्का वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिवद्वय सुरेन्द्र कुमार झा र मनिष कुमार मिश्र सदस्य छन् । राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेसँग कार्यदलले संवाद गर्नुका साथै पार्टी एकताको पहल गर्ने अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पनि सिद्धान्त मिल्ने पार्टीसँग संम्वाद र एकताका लागि २ सदस्यीय कार्यदल बनाएको छ । पार्टी उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा दुई सदस्यीय कार्यदल बनाइएको खानले जानकारी दिनुभयो ।
कार्यदलमा पार्टी प्रवक्ता डा. शरदसिंह यादव सदस्य छन् । पछिल्लो समय राउत नेतृत्वको जनमत र रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच सहकार्यको चर्चा चलेको छ । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले मधेस केन्द्रित दललाई एक ठाउँमा ल्याउन पहल शुरु गर्नुभएको थियो । यही पृष्ठभुमीमा लोसपा र जनमत पनि अन्य दलसँग एकताको प्रयासमा जुटेका हुन् ।