एमालेको केन्द्रीय समिति बैठक आजदेखि

पुस २१, २०८१ | काठमाडौं

सत्तारुढ नेकपा एमालेको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । केन्द्रीय समितिमा एमालेले कांग्रेससँग सत्ता गठबन्धन गरेपछि सुरु भएको राजनीतिक कोर्सको समीक्षा गर्ने भएको छ । आइतबारदेखि सुरु हुने एमालेको केन्द्रीय कमिटी बैठकले कांग्रेससँग सहकार्यको समीक्षा गरी आगामी कार्ययोजना बनाउने तयारी गरेको हो ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ ।

बैठकमा प्रतिवेदनसहित समसामयिक विषयमाथि प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्न करिब तीन मिनेटको समय उपलब्ध गराइने एमालेले जनाएको छ । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा चीन भ्रमण र संयुक्त राष्ट्रसंघको महासभामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको साइडलाइन बैठकको समीक्षा हुनेछ । 

केन्द्रीय कमिटीले सरकार, पार्टी र नेतृत्वविरुद्ध भएका कुप्रचार, षड्यन्त्र र घेराबन्दीको प्रतिवाद गर्ने निर्णय अनुमोदन गर्ने तयारी छ । राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारी लगायत विषय समेटिएका छन् ।

केन्द्रीय कमिटीले वडातहसम्म सञ्चालन गर्ने तीनमहिने अभियानको ढाँचा बनाउनेछ । बैठकमा तीन सय ५७ केन्द्रीय सदस्य, सात प्रदेशका अध्यक्ष र चारवटा केन्द्रीय आयोगका प्रमुख सहभागी हुनेछन् । दुई दिनभित्र बैठक सक्ने तयारी छ । 


प्रतिक्रिया