सिमलताल दुर्घटना : भारतीय टोलीलाई बिदाइ गरिने, नेपाली टोलीले खोजी जारी राख्ने

श्रावण १३, २०८१ | चितवन

त्रिशूली नदीमा बेपत्ता दुई वटा बस र त्यसमा सवार यात्रुको खोजीका लागि आएको भारतीय प्राविधिक आज फर्किदै छ । भारतको ‘राष्ट्रिय विपद मोचन बल’ (एनडीआरएफ) का प्राविधिकलाई आज बिदाइ गरिने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

चार जना गोताखोर सहित आएका १२ जना प्राविधिकले गत आइतबारदेखि खोजी सुरु गरेका थिए । उनीहरुले एक हप्ता खोजी गर्ने भनिएको थियो । नेपाली टोलीले दुर्घटना भए लगत्तै घटनास्थलमा पुगेर खोजी सुरु गरेको थियो । 

भारतीय सहितको टोलीले खोजी गरेपनि त्रिशूली नदीमा बेपत्ता दुई वटा बस र त्यसमा सवार ३७ जना यात्रुको अवस्था अझै अज्ञात छ । बसमा ६५ यात्रु रहेकोमा तीन जनाले पौडिएर ज्यान जोगाएका थिए । 

बेपत्ता ६२ जनामध्ये हालसम्म २५ जनाको शव भेटिएको छ । त्यसमध्ये ४ शवको अझै सनाखत हुन सकेको छैन । भारतीय टोलीले पानीभित्र रहेका वस्तुहरुको आकार र आकृति संकेत गर्ने उपकरण सोनार सहित खोजीमा आएका थिए । त्रिशूलीमा खसेर बेपत्ता भएको आज १७ औं दिन पुग्दा पनि बस र यात्रु अझै भेटिएका छैनन् ।

नेपाली टोलीले पनि गोताखोर र सोनार तथा पानीभित्रका वस्तु हेर्न मिल्ने क्यामेरासहित खोजी गरेको थियो । भारतीयसँग भएको तीन वटा सोनार नेपालीले प्रयोग गरेको भन्दा परिस्कृत र प्राविधिकहरु अनुभवी रहेका कारण खोजी कार्य उपलब्धीमूलक हुन सक्ने अपेक्षा थियो । प्रमुख जिल्ला अधिकारी यादवले भन्नुभयो, ‘भारतीय र हाम्रो संयुक्त टोलीले हालसम्म गरेको कामको समीक्षा गरेर धन्यवाद ज्ञापनसहित भारतीय टोलीलाई फिर्ता पठाइनेछ ।’

त्यसैगरी नेपाली टोलीले भने दोस्रो चरणको खोजी जारी राख्ने प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो । तर यो खोजी हिजो अस्तिको जस्तो द्रूत र सघन भने नहुने उहाँको भनाई छ । 

आज जिल्ला सुरक्षा समितिको बैठक बसेर यो योजनालाई औपचारिकता दिने उहाँले बताउनुभयो । हालसम्म शव फेला परी सनाखत भएका र शव पनि फेला पर्न नसकेका बेपत्तालाई सरकारको निर्णय बमोजिम मृतक मानेर राहत प्रकृया सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।

गत असार २८ गते शुक्रबार बिहान साढे तीन बजेतिर काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल बस सिमलताल सिँदुरेगैरामा झरेको लेदोसहितको पहिरोमा परेर त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो ।

चितवन जिल्ला प्रशासन कार्यालयका अनुसार दुबै बसमा ६५ जना यात्रु थिए । बस त्रिशूलीमै पुगेपनि एञ्जल बसका तीन जना यात्रुले पौडिएर ज्यान जोगाए । बाँकी ६२ जना र दुई वटा बस त्रिशूलीमा बेपत्ता छन् । खोजी टोलीले घटनास्थलदेखि लगभग १०३ किलोमिटर तल नारायणी नदी तट र त्रिवेणी बाँध क्षेत्रबाट २५ वटा शव फेला पारेको थियो । तीमध्ये १९ वटा शव मात्रै पहिरोमा परेको बसका यात्रुको भएको पुष्टि भएको छ ।

परिवारले सनाखत गरेका १९ शवमध्ये तीन महिला र १६ जना पुरुष छन् । एउटा बसमा सात जना र अर्कोमा दुई गरेर नौ जना भारतीय नागरिक पनि बससँगै नदीमा बेपत्ता भएका थिए । जसमध्ये पाँच जना भारतीयको शव फेला परेको छ । 

सकुशल रहेका तीन जना र शव भेटिएर सनाखत भएका १९ जना बाहेक बाँकी ४३ जना यात्रुको अवस्था अज्ञात छ । साउन चार गतेयता शव पनि भेटिएको छैन । भारतीय टोलीको खोजी बस खसेको स्थान वरपर त्रिशूली नदीमा केन्द्रित थियो ।

उनीहरुले हिजो शनिबार १९ किलो र १४ किलोका दुईवटा शक्तिशाली चुम्बक प्रयोग गरेर बसको खोजी गरेका थिए । एउटा १९ किलोको चुम्बक नै त्रिशूलीमा बगेर हराएको छ । त्रिशूली नदीको उर्लदो भेल र उच्च बहाबले खोजीमा बाधा दिएको भारतीय प्राविधिकहरुले बताएका थिए ।


प्रतिक्रिया