सभामुखले छलफलका लागि बोलाए प्रमुख दलका प्रमुख सचेतक र सचेतक
भाद्र ३०, २०८१ | काठमाडौं
प्रतिनिधि सभाको बैठक अघि सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्दै हुनुहुन्छ ।
सभामुख घिमिरेले आज बिहान ११ बजे सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक÷सचेतकलाई बैठकका लागि बोलाउनु भएको हो ।
आइतबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा बैठक अवरोध गर्ने जनाएपछि सभामुख घिमिरेले दललाई छलफलका लागि बोलाउनु भएको हो ।
माओवादीले प्रतिनिधि सभामा ‘हिंसा’ शब्द नसच्याएसम्म बैठक अवरुद्ध गर्ने जनाएको छ । सभामखु देवराज घिमिरेले भदौ १२ को प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको ‘माओवादीको सशस्त्र हिंसा’ भन्ने शब्द असंसदीय नभएको रुलिङ गर्नु भएको थियो ।
माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले ‘माओवादी जनयुद्ध’ लाई अपमान गर्न खोजिएको उल्लेख गर्दै सभामुखले ‘हिंसा’ भन्ने शब्द असंसदीय नभएको भन्ने निर्णय नसच्याएसम्म बैठक चल्न नदिने निर्णय गरेको हो ।