आख्तियारमा झण्डै २७ हजार उजुरी, अनुसन्धान नतिजामुखी बनाउन राष्ट्रपतिको आग्रह
भाद्र ३०, २०८१ | काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८०÷०८१ मा २६ हजार ९ सय १८ उजुरी परेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेललाई वार्षिक प्रतिवेदन बुझाउँदै आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २ सय ६८ उजुरी समेत गरेर ३६ हजार १ सय ८६ उजुरीमाथि कारवाही गर्नुपर्ने बताउनुभयो । तीमध्ये २७ हजार ७ सय १४ उजुरी स्क्रिनिङ र प्राथमिक छानबिनबाट फछ्र्याैट भएको राईले बताउनुभयो ।
फछ्र्यौट भएकामध्ये १ हजार १ सय ३३ वटा उजुरीहरु उपर विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको तथा १ सय ३१ उजुरीउपर सुझाव दिइ तामेली गरिएको र १२ हजार ७ सय ८६ उजुरी उपर कानून बमोजिम अन्य आवश्यक कारबाही गरिएको अख्तियारको भनाइ छ ।
गत आर्थिक बर्षमा दायर भएका मुद्धामा गैरकानूनी लाभ हानी र घुससँग सम्बन्धित छन् । प्रमुख आयुक्त राईले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र, सार्वजनिक सम्पत्तिको हानी नोक्सानी, राजश्व चुहावटसम्बन्धी मुद्धा समेत रहेको बताउनुभयो । गत आर्थिक बर्षमा १ हजार ४५ जनालाई प्रतिवादी बनाइ ८ अर्ब ४० करोड ६ लाख ४९ हजार ४ सय ७ रुपैयाँ बिगो माग दाबी लिइएको अख्तियारले जनाएको छ ।
कारबाहीलाई पारदर्शी बनाउन आवश्यक: राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धानसम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य महत्वपूर्ण रहेको बताउनु भएको छ । शीतल निवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन बुझ्दै उहाँले आयोगको संस्थागत क्षमता विकास र कर्मचारीहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्दै आयोगका काम, कारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउनु अति आवश्यक रहेको उल्लेख गर्नुभयो ।
सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धान सम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य बढी महत्वपूर्ण हुने उहाँको भनाई छ । आयोगले प्रतिवेदनमा उल्लेख गरेका भ्रष्टाचार नियन्त्रणसम्बन्धी काम, कारबाहीहरु प्रशंसनीय रहेको पनि उहाँले बताउनुभयो । राष्ट्रपति पौडेलले प्रतिवेदनमा उठाइएका महत्त्वपूर्ण विषयहरुलाई सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो ।