आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय
भाद्र ३०, २०८१
सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले निर्वाचन आयोगको सिफारिसमा मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । ७ प्रदेशका गरी विभिन्न स्थानीय तहका ३९ स्थानमा रिक्त पदका लागि निर्वाचन गर्न लागिएको हो । यसैबीच निर्वाचन आयोगले आजै आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको थियो ।
आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न प्रस्ताव गर्नु भएको हो । आयोगका अनुसार मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष तथा काठमाडौंको किर्तिपुर नगरपालिकाको प्रमुख पदसहित रिक्त स्थानमा निर्वाचनका लागि प्रस्ताव गरिएको थियो । आयोग टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले आयोगको प्रस्तावबमोजिम उपनिर्वाचनका लागि सरकार तयार रहेको भन्दै गृहकार्य अगाडि बढाउन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गर्नु भएको थियो ।