केही दिनपछि मात्र अध्यादेश संसद्मा प्रस्तुत हुने प्रधानमन्त्री ओलीको भनाई
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2025/news/Parliament1-1738565732.jpg&w=700&height=600)
माघ २७, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेश केही दिनपछि मात्र संसद्मा प्रस्तुत हुने बताउनुभएको छ । संसद् भवनमा सरकारलाई समर्थन गरेकै जसपा नेपाल अध्यादेशको विपक्षमा देखियो नि भन्ने सञ्चारकर्मीहरूको जिज्ञासामा प्रधानमन्त्री ओलीले दलहरूसँग छलफलका लागि केही दिन लाग्ने बताउनुभएको हो ।
दलहरूसँग अध्यादेशबारे छलफल गर्न थप दुई÷तीन दिन लाग्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– अहिले सांसद् गन्ने बेला भएको छैन ।’ राष्ट्रिय सभामा अल्पमतमा परेपछि अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव पेस गर्नबाट सरकार पछि हटेको हो ।
यसअघि अध्यादेश स्वीकार गर्ने कि अस्वीकार गर्ने भनी जसपा नेपाल संसदीय दलको बैठक चलिरहेकै बेला दुवै सदनको कार्यसूचीबाट अध्यादेशको प्रस्तावसम्बन्धी व्यवस्था हटाइएको सूचना पुगेको थियो । त्यसपछि संसदीय दलको बैठक शनिबार पुनः बस्ने र सो विषयमा निर्णय लिने भनी स्थगन गरिएको छ ।