पाथीभरा केवलकार विवादः आन्दोलनरत पक्षद्वारा थप संघर्षको कार्यक्रम घोषणा,

माघ २८, २०८१ | काठमाडौं

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षले सरकारसँगको वार्तामा सहमति नजुटेपछि थप संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

यसअघिका दुई चरणका वार्ताबाट सहमति नजुटेको तथा उच्चस्तरीय वार्ता समिति गठन गर्न माग राखिएकोमा सरकार गम्भिर नभएको भन्दै निर्माणाधीन केबलकारको विरोधमा उत्रिएको समूहले सडक सघंर्षमा जान बाध्य भएको जनाएको हो । केबलकार निर्माणको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भो आवद्ध ११ वटा संस्था र १० वटा अन्तरदलीय राजनीतिक पार्टीले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दैं संघर्षका कार्यक्रम सार्वजनिक गरेको जनाएको छ ।


उनीहरुले भोलिदेखि आगामी फागुन ९ गते सम्म विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । यही फागुन ६ गतेदेखि ८ सम्म मुक्कुमलुङ बचाऔँ पदयात्रा, केबलकार निर्माण सामग्री ढुवानीमा अवरोध तथा काठमाडौं, इटहरी र बिर्तामोडमा विरोध सभा लगायतका कार्यक्रम घोषणा गरेका छन् ।

यस्तै, उनीहरुले केबलकारको सम्झौता खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् पत्र बुझाउने लगायतका विरोधका कार्यक्रम तय गरेका छन् । साथै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणक्रममा भएको प्रर्दशनमा पक्राउ परेकालाई बिनासर्त रिहाई गर्नुको साटो धरौटीमा रिहाई गरेको तथा केबलकार निर्माण कार्य नरोकिएको भन्दै उनीहरुले विरोध जनाएका छन् । 


प्रतिक्रिया