वीरगञ्ज नाकाबाट ७ महिनामा साढे ८ अर्ब बढीको धान आयात

फाल्गुन १०, २०८१ | पर्सा
चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा वीरगञ्ज नाका हुँदै साढे ८ अर्ब रुपैयाँ बढीको धान आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक अनुसार गत साउनदेखि माघसम्ममा ८ अर्ब ६० करोड रुपैयाँ बराबरको २२ करोड ६२ लाख किलो धान आयात भएको छ ।
धान आयातबाट ६६ करोड रुपैयाँ राजश्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ । गत आवको सोही अवधिमा वीरगञ्ज नाका हुँदै ४ अर्ब ८८ करोड रुपैयाँ बराबरको १३ करोड १७ लाख किलो धान आयात भएको थियो । जसबाट २४ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।
३ वर्षपछि भारतले यस वर्ष निकासी खुल्ला गरेकाले उल्लेख्य परिमाणमा धान र चामल समेत भित्रिन थालेको हो । चालू आर्थिक वर्षको मंसिरदेखि भारतीय धान भित्रिन सुरु भएको हो । नेपाल चामल दाल तेल उद्योग संघका पूर्व अध्यक्ष सुबोध कुमार गुप्ताले भारतले यस वर्ष नेपालका लागि कोटा निर्धारण नगरेको बताउनुभयो ।
उहाँका अनुसार भारतले ३ वर्षपछि नेपाल र अन्य देशमा धानको निकासी पूर्ण रुपले खुल्ला गरेको हो । गत वर्ष भारतले नेपालमा ६ लाख टन धान निकासीको कोटा निर्धारण गरेको थियो । विगतमा निकासीमा २० प्रतिशत शुल्क लगाएको भारतले यस वर्ष धान निकासीमा यो शुल्क हटाएर शून्यमा झारेको छ ।
विगतमा भारतमै धानको उत्पादन घटेको तथा रुस युक्रेन युद्धको आदि कारण देखाउँदै भारतले छिमेकी मुलुकमा धानको निकासी नियन्त्रण गर्न कोटा निर्धारण गरेको थियो ।
वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका गुप्ताले यस वर्ष भारतले धानको निकासीमा कुनै बन्देज नलगाएकाले नेपालको सबै नाकाबाट धान आयात गर्न सकिने बताउनुभयो ।
गत वर्ष वीरगञ्ज र भैरहवा नाकाबाट मात्रै धान आयात भएको थियो । नेपालमा हाल बर्सेनि करीब २० देखि २२ लाख टन धान उत्पादन हुन्छ । तर, नेपालको वार्षिक धानको माग ३० लाख टन रहेको छ । यस्तो अवस्थामा अपुग करीब ८ लाख टन धान आयात गर्नुको विकल्प नरहेको गुप्ताको भनाई छ । भारतबाट धान आयात गर्दा ५ प्रतिशत भन्सार शुल्क र २ दशमलव ५ प्रतिशत अग्रिम आयकर मात्र लाग्ने गुप्ताले बताउनुभयो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत अमित तिवारी यस वर्ष तुलनात्मक रुपमा धानको आयात झण्डै दोब्बरीले भएको बताउनुभयो । हाल पनि धान भित्रिने क्रम जारी रहेको उहाँको भनाई छ । ‘हाल पनि दैनिक ८० देखि १ सय ट्रक धान यो नाकाबाट भित्रिदै छ,’ उहाँले भन्नुभयो, ‘भारतले बासमति चामल निर्यातमा रोक लगाएकाले नेपाली आयातकर्ताले बासमति लगायत धान आफ्नो आवश्यकता अनुसार आयात गरेर भण्डारण गरी राख्छन् ।’