सहमतिका आधारमा कामपाको कार्यपालिका बैठक बस्छः नगरप्रमुख साह

जेष्ठ २९, २०८२ | काठमाडौं
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले लामोसमयदेखि बस्न नसकेको कार्यपालिकाका बैठक बस्ने बताउनुभएको छ ।
महानगरकी उपमेयर सुनिता डंगोलसहित तीन जना कार्यपालिका सदस्यसंगको छलफलका क्रममा मेयर साहले कार्यपालिकाको बैठक आपसी सहमतिका आधारमा बस्ने बताउनुभएको हो । लामो समयदेखि बैठक बस्न नसक्दा मेयर, उपमेयर र कार्यपालिका सदस्यबीच विभिन्न शंका उपशंका भएको स्वीकार्दै मेयर साहले अब नगरपरिषद्, कार्यपालिकाको बैठक सहमतिका आधारमा बस्ने बताउनुभएको हो ।
असार १५ गते भित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भएपनि त्यसअघि गर्नुपर्ने छलफलहरु नियमित हुन सकेको छैनन् । नीति तथा कार्यक्रम तयार भएपछि नगरपरिषद्को बैठक बस्ने महानगरले जनाएको छ । त्यसपछि कार्यपालिकाको बैठक बसेर बजेट पारित गर्नुपर्ने भएपनि गत पुस १४ यता कार्यपालिकाको बैठक बस्न सकेको छैन ।
असार १५ भित्र बजेट नल्याए आर्थिक कारोबार नै रोकिने जोखिम बढेपछि उपमेयर डंगोल र प्रवक्ता मानन्धरको पहलकदमीमा बैठक बसेको बुझिएको छ । गत चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई कार्यालय प्रवेश गर्न रोक लगाएपछिको उत्पन्न विवादकाबीच मेयर, उपमेयर र कार्यपालिका सदस्यबीचको सम्बन्ध चिसिएको थियो ।