अज्ञात व्यक्तिको गोली प्रहारबाट सर्लाहीमा एक व्यक्तिको मृत्यु

श्रावण ३१, २०८२
गोली प्रहार हुँदा सर्लाहीको हरिपुर्वा नगरपालिका–६ का ५० वर्गाीय रामपुकार यादवको उपचारको क्रममा मृत्यु भएको छ । भारतसँग सीमा जोडिएको हरिपुर्वाका यादव घरमा बसिरहेका बेला हिजो साँझ गोली प्रहार भएको थियो । टाउकोमा गोली लागेको उनको महोत्तरीको पर्सास्थित एक निजी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गोली प्रहारपछि आक्रमणकारी फरार छन् । यादवमाथि एक पुरुषले गोली प्रहार गरेपनि उनको पहिचान हुन सकेको छैन । घटनामा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । आक्रमणकारीले गोली हान्नुको कारण खुलेको छैन । यादवको शव भने मुचुल्का उठाएर पोष्टमार्टमको लागि लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।