नेपाली विद्यार्थी विपिन जोशीको शव फरेन्सिक परीक्षणबाट पुष्टि

आश्विन २८, २०८२ | काठमाडौं
प्यालेस्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा दुई बर्षसम्म रहेका नेपाली विद्यार्थी विपिन जोशीको शवको फरेन्सिक परीक्षण गरिएको छ । सो परीक्षणबाट उनकै शव रहेको पुष्टि भएको छ । हमासले सोमबार राति इजरायललाई विपिनसहित चार जनाको शव हस्तान्तरण गरेको थियो । इजराइली सेनाले फरेन्सिक परिक्षणबाट चारैजनाको शवको पहिचान भएको पुष्टि गरेको हो ।
यसबारे परिवारलाई जानकारी दिइएको छ । सेनाका अनुसार तेलअभिभस्थित अबु काबिर फरेन्सिक संस्थानले अनुसन्धान पूरा गरेपछि उनीहरूको मृत्युको कारण र अवस्थाबारे अन्तिम निष्कर्ष सार्वजनिक गरिने जनाएको छ ।
दाजु किशोर जोशीले कान्तिपुरसँग भने, ‘‘विपिनको शव पहिचान भएको खबर पाएका छौं,’ नेपाल कहिले आउँछ भनेर मिति दिएको छैन । आवश्यक प्रक्रिया पूरा भएपछि खबर गर्छौं भनेका छन् ।’ इजरायली सेनाले ’हमासबाट विपिनको हत्या युद्धको पहिलो महिनामै गाजामा कैद गरिएको अवस्थामा गरिएको’ दाबी गरेको छ । हमासले गाजा पट्टीमा इजरायली हवाई आक्रमणका क्रममा विपिनको मृत्यु भएको दाबी गरेको थियो ।
कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले २०२३ अक्टोबर ७ मा बन्धक बनाएर लगेको थियो । त्यस दिन हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए ।