संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदै

चैत्र १९, २०८२ | काठमाडौं

प्रतिनिधिसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदै छ । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको पहिलो बैठक दिउँसो २ बजेका लागि आह्वान गर्नुभएको हो ।

प्रतिनिधिसभाको पहिलो बैठकको सुरुमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा वाचन गर्ने कार्यतालिका छ ।

त्यसपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा वालेन्द्र शाहलाई नियुक्त र मन्त्रिपरिषद गठन गरेको जानकारी सदनलाई गराउनुहुनेछ ।

सभामुखको भूमिकामा रहेका केसीले प्रतिनिधिसभाले नयाँ नियमावली नबनाएसम्म प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम संसद्का कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि सभामा राख्ने कार्यसूची छ ।

यस्तै, सभामुख÷उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि अध्यक्ष मण्डलका सदस्यहरूको मनोनयनको कार्यसूचीसमेत रहेको छ ।

संसद् अधिवेशन बहाल नरहेका बेला सरकारबाट विभिन्न मितिमा सिफारिस भई राष्ट्रपतिले जारी गर्नुभएका अध्यादेश बैठकमा पेस हुने छन् ।

अधिवेशन नभएको बेला जारी अध्यादेशलगत्तै आह्वान हुने अधिवेशनको पहिलो बैठकमा पेस गर्नुपर्ने व्यवस्था छ ।

सो अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश र मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश प्रतिनिधि सभामा पेस हुने छन् ।

अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राख्ने कार्यक्रम पनि रहेको छ ।

अधिवेशनको पहिलो बैठकले सभामुख चयनका लागि कार्यतालिका सार्वजनिक गर्ने दलीय सहमति भएको छ ।

ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सभामुख चयनको कार्यतालिकामा सहमति गरेको हो ।

प्रतिनिधि सभा नियमावली २०७९ को नियम ७ बमोजिम सभामुख निर्वाचनको दिन तोकिने छ । जसअनुसार भोलि सभामुखका लागि मनोनयन दर्ता हुने र आइबार निर्वाचन हुनेछ ।


प्रतिक्रिया