भारतीय बिरामीको रोजाइमा नेपाली अस्पताल
आश्विन २८, २०७४ | विराटनगर
अलिक गारोसारो पर्दा नेपालीहरु उपचारका लागि भारत दौडिहाल्छन् । तर छिमेकी मुलुक भारतको विहारदेखि झारखण्ड राज्य सम्मका नागरिक नेपालकै अस्पताल माथि विश्वास गर्छन् । सीमावर्ती रानीस्थित विराटनगर आँखा अस्पतालमा दैनिक आउने बिरामीमा ६० प्रतिशत भारत, बंगलादेश, भुट्टान, म्यानमार र लाओस लगायतका मुलुकका हुन्छन् । यो एक खाले ‘मेडिकल टुरिज्म’ वा चिकित्सा पर्यटनले महानगरको व्यापारलाई पनि बढाएको सो अस्पतालका प्रबन्धक कुमार पृथुले बताउनुभयो ।
‘यसबाट होटेल, मल र खुद्रे पसलको ब्यापारमा वृद्धि भएको छ, रोजगारीका अवसरहरु पनि सृजना भएका छन्,’ उहाँले भन्नुभयो, कुल विदेशी विरामीमा पनि झन्डै ९० प्रतिशत भारतकै हुने गरेको अस्पतालको रेकर्डबाट खुल्छ ।
गुणस्तरिय, सस्तो र सबै खाले सहजताले गर्दा उपचार गराउन आउनेमा बढी भारतीय हुने गरेको उक्त आँखा अस्पतालका कार्यक्रम निर्देशक एवं कोर्निया विज्ञ डा.सञ्जयकुमार सिंहले बताउनुभयो । सन २००६ सालमा ११ बिघा क्षेत्रफलमा निर्मित यो अस्पताल बिरामीले तीर्ने न्यून्तम शुल्क एवं दातृ संस्थाहरुको सहयोगले चल्छ ।
यस अस्पतालमा मुलुककै २० उत्कृष्ट आँखा विज्ञ सहित २ सय ५० चिकित्साकर्मी एवं प्रसासनिक कर्मचारी छन् । अहिलेसम्म कुनै विवादमा नपरेको यस अस्पतालमा वार्षिक जचाउन आउने बिरामीको संख्या ३ लाख १७ हजार र शल्यक्रिया गराउनेहरुको संख्या ६० हजार १ सय ६४ पुगेको छ ।
एक दशक अघिको तुलनामा यो नीकै बढी हो । सन २००६ मा यहाँ ८ हजार ७ सय ८९ बिरामीले जाँच र १ हजार ६ सय ४५ ले आँखाको विभिन्न खाले शल्यक्रिया गराएका थिए ।
उक्त अस्पतालमा दैनिक औषत आउने १ हजार ४ सय आँखाका बिरामीमा ४० प्रतिशत मात्र स्थानीय नेपाली हुन्छन् ।
पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम अन्र्तगत नेपाल नेत्र ज्योति सँघद्वारा सञ्चालित उक्त गैर नाफामुलक अस्पतालमा आधारभुत दृष्टि जाँचदेखि विश्वको अति विकसित अस्पतालमा मात्र उपलब्ध जटिल शल्यक्रिया सम्म हुन्छ । मोतिया बिन्दु, जल बिन्दु, पर्दा (रेटिना) को रोग, कोर्निया (नानी) प्रत्यारोपण, अकुलोप्लास्टी (कृत्रिम आखा राख्ने), बालबालिकाको मोतिया बिन्दु र आँखाको डेढोपन (स्वीकन्ट) सम्बन्धी शल्यक्रिया यहाँ हुन्छ । यहा चाँडै चश्माका ठाउँमा कन्टयाक्ट लेन्स राख्नलाई गरिने ‘रिफ्याक्टिभ सर्जरी’ सुरु हुन लागेको उक्त अस्पतालका प्रबन्धक पृथुले जानकारी दिनुभयो ।
बस्न लाग्ने खर्च सहित मात्र १ हजार २ सय रुपैयाँमा मोतिया बिन्दुको शल्यक्रिया यहाँ हुन्छ । प्रबन्धक पृथुका अनुसार कुल रोगीमा ७० प्रतिशत मोतिया बिन्दुका र अन्यमा कोर्निया, रेटिना एवं जलबिन्दुलगायतका हुन्छन् । प्रबन्धक पृथुले भन्नुभयो, ४८ रुपैयाँ पूर्जी शुल्क तिरेपछि आँखाको सम्पूर्ण परिक्षण हुन्छ । ‘संसारमै सबभन्दा कम मुल्य १२ हजार रुपैयाँमा रेटिनाको शल्यक्रिया गर्छौं,’ ।
यही उपचार राजधानीको तीलगंगा आँखा अस्पतालमा गराउँदा २५ हजार रुपैयाँमा पर्छ । ‘सेवा र सुविधाको तुलनामा नीकै कम शुल्क राख्दा हरेक वर्गको पहुँचामा हामी छौं,’उहाँले भन्नुभयो ।
मनग्यै रकम खर्चेर मात्र स्तरिय उपचार पाइन्छ भन्ने भ्रम र हल्लाको आफूहरुले सशक्त जवाफ दिइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उपलब्ध सुविधा, न्यून्तम शुल्क, विज्ञ र गुणस्तरियताको हिसाबले एशियाको मात्र नभएर विश्वकै यो तेस्रो सबै भन्दा उत्कृष्ट आँखा अस्पताल भएको दावी गर्छौं,’ ।
पहिलो र दोस्रो स्थानमा भने भारतकै मध्यप्रदेशको चित्रकुट एवं तमिलनाडु राज्यमा रहेका आँखा अस्पतालहरु छन् । राजधानीको आँखा अस्पतालहरुले समेत दिन नसक्ने उपचार यहाँ उपलब्ध रहेको पृथुले बताउनुभयो । यहाँ दृष्टिविहिन नेपाली बिरामीले १० हजार रुपैयाँमा आँखाको नानी(कोर्निया) प्रत्यारोपण गराउँछन् । अन्यत्र योभन्दा दोब्बर पर्छ ।
यहाँ गत वर्ष २ सय ६ जना र यो वर्ष अहिलेसम्म १ सय ९५ ले कोर्निया प्रत्यारोपण गराएको अस्पतालका कोर्निया विशेषज्ञ डा. सिंहले जानकारी दिनुभयो । पाँच वर्ष अगाडीसम्म कोर्निया (नानी) पाउन कठिन हुन्थ्यो । विद्युतीय शवदाह गृह बनेपछि आँखाको नानी दान गर्ने प्रवृति बढेको हुनाले अलिक सहज भएको डा. सिंहले जानकारी दिनुभयो ।
आँखा डढेर जानुभन्दा कसैलाई काम लागोस भन्ने दृष्टिकोणले यसमा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । सिंहले भन्नुभयो, सन २००७ मा आँखा प्रत्यारोपण सुरु भएको उक्त अस्पतालमा एक दसकभन्दा बढीको अवधिमा झन्डै ६ हजार जनाले मृत्युपछि आँखाको नानी दान इच्छापत्र भरेका छन् । ‘चेतनासँगै कोर्निया दान बढ्दै छ,’ ।
पूर्वी नेपालमा सन २००२ देखि र उक्त अस्पतालमा सन २००६ देखि कोर्नियाको प्रत्यारोपण सुरु भएको हो । उक्त अस्पतालमा यस एक दसकको अवधिमा ८ सय ७५ जनाभन्दा बढीमा कोर्निया प्रत्यारोपण भइसकेको छ ।
यो अस्पताले यो वर्षदेखि कोर्निया विशेषज्ञ तालिम समेत सुरु गरेको छ । एक जनाले प्रशिक्षण लिइरहेको र अर्को दुई चिकित्सक लाममा रहेको डा सिंहले बताउनुभयो । सो अस्पतालका एक मात्र कोनिर्या विशेषज्ञ समेत रहेका डा सिंहले भन्नुभयो, ‘राजधानीकै अस्पतालमा कोर्निया विज्ञको अभाव छ ।’
अर्कोतिर यस अस्पतालमा राम्रो उपचार पाउने सुनेर छिमेकी भारत र अन्य मुलुकबाट आउनेलाई पारी जोगबनीस्थित रेल्वे प्लेटफर्ममा दलालहरुले फकाएर अन्यत्र लाने गरेको खुलासा भएको छ ।
बिरामी ल्याए वापत निश्चित प्रतिशत कमिसन दिने शर्तमा नाफा मुलक निजी अस्पताल र नर्सिंग होमले रिक्सावाला तथा भ्यान चालकलाई प्रयोग गरेको स्रोतले दावी गरेको छ । यसबाट आफ्नो अस्पतालमा आउनेको संख्यामा कमी नआए पनि मुलुकको छविमा असर परिरहेको प्रबन्धक पृथुले बताउनुभयो ।
‘बिरामी लगेपनि उनीहरुले आधुनिक संयत्र र विज्ञको अभावमा राम्रो उपचार दिन सक्दैनन्,’ उहाँले भन्नुभयो, ‘विदेशीहरु निको नभएर फर्कदा मुलुककै प्रतिष्ठामा आँच पुग्छ ।’ देशकै सम्मानमा चोट पुग्ने खाले कार्य नगरिदिन निजी अस्पताल र नर्सिंग होमसँग पृथुको अनुरोध थियो ।
‘सरोकारवाला निकायले पनि अनुगगमन गर्नपर्छ,’ उहाँले भन्नुभयो, केही निजी नर्सिंग होम, अस्पताल र क्लिनिकमा विज्ञता, दक्षता तथा पर्याप्त तालिम नभएका चिकित्सकले पनि आँखाको शल्यक्रिया गरिरहेका हुन्छन् ।’ केही चिकित्सकले मुनाफैका लागि अधिकार क्षेत्र बाहिर गएर जटिल शल्यक्रिया गर्न खोज्दा पूर्णतया आँखा खराब भएका बिरामीहरु पनि उक्त अस्पतालमै पुग्छन् ।