प्रदेश सात : आर्थिक समृद्धि र विकास साझा मुद्दा

माघ २१, २०७४ | धनगढी

प्रदेश नम्बर ७ मा सम्पन्न पहिलो ऐतिहासिक बैठकमा प्रदेशशभामा प्रतिनिधित्व गर्ने चारवटा दलका सांसदहरुले आर्थिक समृद्धि र विकास सवैका साझा मुद्दा बनाएर अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । आज दिउँसो १ बजेर ३० मिनेटमा राष्ट्रिय गानबाट सुरु भएको प्रदेशशभा बैठकमा शहिदलाई श्रद्धाञ्जली पछि प्रमुख दलका सांसदहरुले बोल्दै प्रदेशको आर्थिक विकास र समृद्धिका लागि सबै दलले साझा मुद्दा बनाएर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

 बैठकमा एमालेका तर्फबाट बाजुराबाट निर्वाचित सांसद प्रकास शाहले समृद्धि र विकासका लागि प्रशस्त सम्भावना भएको ७ नं प्रदेशमा नयाँ युगको सुरुवात भएको बताउनुभयो । सांसद शाहले भन्नुभयो, ‘जनताले लिएको स्थिरता र दीगो शान्तिको युग सुरु भएको विश्वासलाई कायम राख्ने चुनौती हाम्रा सामु छन् ।’ शाहले जनतामा जुन उत्साह, उमंग र जिज्ञासा छ त्यसलाई निरन्तरता दिन सबै दलले विकास र समृद्धिका साझा मुद्दा बनाएर अगाडि जानुको विकल्प नभएको बताउनुभयो । विकासका लागि सबैमा एकताको खाँचो रहेको भन्दै उहाँले अन्य विषयमा राजनीतिक खिचातानी भएपनि समृद्धिका मुद्दामा सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । विकास र समृद्धि संगै लामो संक्रमणले खलबलाएको सामाजिक एकतालाई पनि सही ढंगबाट समाधान गरी अगाडि बढ्नु पर्ने उहाँको भनाई थियो । 

पहिलो बैठकमा नेपाली कांग्रेसका तर्फबाट डोटीबाट निर्वाचित सांसद भरत खड्काले पनि प्रदेशको विकासका लागि सबैले एउटै धारणा बनाएर जानुपर्नेमा जोड दिनुभयो । खडकाले एकात्मक राज्य ब्यवस्थाले पछाडी पारेको ७ नं प्रदेशका हरेक जिल्लामा रहेका विकासका सम्भावनालाई पहिल्याइ सबै राजनीतिक दलहरुले विकासका मुद्दामा एक भएर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्नुभयो । सांसद खड्काले भन्नुभयो, ‘आर्थिक विकास र समृद्धिले मात्र संघीय गणतन्त्र मजबुत हुने भएकाले विगतका गल्ती नदोहोर्‍याई विकासका मामिलामा सबैको एक धारणा हुनु पर्ने उहाँको तर्क थियो । विधि र पद्धतिलाई पन्छाएर लोकतन्त्र संबिधानवाद बलियो हुन नसक्ने भएकाले आर्थिक विकाससंगै यस तर्फपनि जनप्रतिनिधिले गम्भीर बन्नुपर्ने समय आएको सांसद खड्काले बताउनुभयो । 

संसारको विशाल लोकतन्त्र भारतको राजधानी दिल्ली सहित प्रमुख शहरसंग सिधा हवाई सम्पर्क, उत्तर तर्फ रहेको विशाल छिमेकी राष्ट्र चिनसंग राजमार्ग र हवाई मार्गबाट सिधा सम्पर्क गर्न सक्यो भने ७ नं प्रदेश सवैभन्दा चांडो समृद्ध हुने खड्काको भनाई थियो । आर्थिक गतिविधिलाई तीब्रता दिन, पर्यटन प्रवद्र्धन गर्न, कृषिको आधुनिकीकरण र औद्योगिक विकास गर्न पनि दुई छिमेकी राष्ट्रसंग ७ नं प्रदेशको सिधा सम्पर्क हुनु आवश्यक रहेको खड्काले उल्लेख गर्नुभयो । 

बैठकमा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्रीका लागि प्रस्तावित सांसद त्रिलोचन भट्टले आर्थिक विकास र समृद्धिसंगै भ्रष्टाचार समाप्त गर्न सबै राजनीतिक दल एक ठाउँमा उभिनु पर्ने बताउनुभयो । उहाँले ७ नं प्रदेशमा रहेको प्राकृतिक श्रोतसाधनको ब्यवस्थापन र भ्रष्टाचार न्यूनीकरण गर्न सके देशको सवैभन्दा समृद्ध प्रदेश बन्नसक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘कागजमा मात्र सीमित पारिएको कृषि प्रधान देश भन्ने नारालाई ब्यवहारमा उत्राने समय आइसकेको छ ।’ 

नारामा कृषि प्रधान देश भन्ने तर ब्यवहारमा सबैभन्दा हेपिएको पेशा कृषिलाई बनाइएकाले मुलुकको प्रगति हुन नसकेको प्रति सबैले गम्भीर बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । जलश्रोत, पर्यटन र कृषि क्षेत्रको जस्ता विकासलाई साझा मुद्दा बनाउन सके ७ नं प्रदेश समृद्ध हुन सक्ने भट्टले बताउनुभयो । 

संघीयताले जनतालाई विकासको अनुभूति दिन सकेन भने राजनीति गर्ने माथि गरेको अविश्वास झनै बलियो हुन सक्ने बताउंदै सांसद भट्टले यस प्रति सबैको ध्यान पुग्नुपर्ने उल्लेख गर्नुभयो । 

४ वटा दलको मात्र उपस्थिति रहेको ७ नं प्रदेशको पहिलो बैठकमा राष्ट्रिय जनता पार्टीकी सांसद मालामति रानाले विकासका मुद्दा संगै संविधानमा आवश्यक संशोधनका लागि केन्द्रीय सरकार समक्ष अग्रह गर्नुभयो । सांसद रानाले भन्नुभयो, अहिलेसम्म जातीय सद्भावना कायम हुन नसकेकाले अविलम्व टीकापुर घटनालाई राजनीतिक घटनाका रुपमा लिई त्यही अनुरुप समाधान गरिनुपर्छ ।’

अन्तरिम कार्यविधि पारित
प्रदेशशभाको पहिलो बैठकमा प्रदेशशभा संचालनका लागि अन्तरिम कार्यविधि २०७५ ध्वनी मतले पारित गरेको छ । सांसदहरुको बोल्ने क्रम सकिएपछि बैठक संचालन गरिरहेकी जेष्ठ सांसद दिव्येश्वरी शाहले अन्तरिम कार्यविधि पारित होस भन्दै बैठकमा निर्णयार्थ पेश गरेकी थिइन । उक्त प्रस्तावलाई सांसदहरुले ध्वनी मतले पारित गरेका थिए । बैठकमा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक संचालन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । उक्त समितिमा सांसदहरु माया भट्ट, देवराज पाठक, बिरमान चौधरी, पूर्णा जोशी र कृष्ण बहादुर चौधरी रहेका छन् । प्रदेश सभामुख र उपसभामुखको निर्वाचनका लागि जेष्ठ सदस्य दिव्येश्वरी शाहले माघ २९ गते दिनको १ बजे प्रदेश सभाको अर्को बैठक आह्वान गरेकी छिन् । 


प्रतिक्रिया