तेह्रथुमको छथर गाउँपालिकामा प्रधानमन्त्री पार्क बन्दै

श्रावण २६, २०७५ | तेह्रथुम

चन्द्र कार्की तेह्रथुमको छथर गाउँपालिकालाई पर्यटकीय गन्तव्य बनाउने उदेश्यले शुक्रबारेमा प्रधानमन्त्री पार्क निमार्ण थालिएको छ । देशमै पहिलो पटक गाउँपालिकाले प्रधानमन्त्री पार्क निमार्ण थालेको हो । पार्कमा नेपालका हाल सम्मका सबै प्रधानमन्त्रीको स्तम्भ निर्माण गरी उनीहरूको कार्यकाल र योगदानको विवरण समेत राखिने गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुले बताउनुभयो ।

छथर गाउँपालिकालाई पर्यटन गन्तब्यको रुपमा विकास गर्ने उद्देश्यले नयाँ कामको थालनी गरिएको अध्यक्ष लिम्बुले बताउनुभयो । पार्कमा आकर्षक र लामो समय सम्म हरियाली भैरहने जातका वनस्पती र फूलका बिरुवा समेत रोपिने गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनुभयो ।

प्रधानमन्त्रीको स्तम्भ सहितको पार्क आगामी तीन वर्ष भित्रमा निर्माण पूरा गरी सक्ने गाउँपालिकाले जनाएको छ । पहिलो वर्ष डीपीआर तयार गरी काम थालिएको छ ।

यस्तो पार्क अहिले सम्म कुनै पनि स्थानमा नबनेकाले आफूहरुले नयाँ कामको थालनी गरेको गाउँपालिका अध्यक्ष लिम्बुले बताउनुभयो ।

प्रधानमन्त्रीको स्तम्भ सहितको पार्क निर्माण गर्दा ईतिहास जान्न चाहानेहरुका लागि पनि सहयोग पुग्ने र पर्यटन प्रवद्र्धन समेत हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यो कामका लागि चालू आवमा खर्च गर्ने गरी ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गत वर्ष गाउँपालिकाले पर्यटन पूर्वाधार निर्माण र प्रवद्र्धनका लागि ४० लाख रुपैयाँ खर्च गरेको थियो । प्रधानमन्त्रीहरुको स्तम्भ सहित उनीहरुको योगदानमा आधारित जीवनी पनि त्यहाँ राखिने छ ।

पार्कमा आएर घुम्ने जो सुकैले कुन प्रधानमन्त्रीले देश र जनताका लागि कस्तो योगदान पुर्‍याएका थिए ? भनेर सजिलै जानकारी लिन सक्ने अध्यक्ष लिम्वुले बताउनुभयो ।

त्यसका लागि शुक्रबारे बजार नजीकै जग्गाको व्यवस्था गरिएको छ । यस अघि गाउँपालिकाले भ्यू–टावर, सात तले धाम, च्याङलुङ गुफा, पिकनिक स्थल, चिल्ड्रने पार्क, सहिद पार्क र भ्यू–पार्क निर्माण गरीरहेको छ ।

संरक्षण र प्रचार प्रसार अभावमा ओझेलमा पर्दै आएका पर्यटकीय स्थानको छनौट गरी पूर्वाधार विकास गरिने अध्यक्ष लिम्बुले बताउनुभयो ।  


प्रतिक्रिया