चन्द समूहका नेता नेकपामा प्रवेश

भाद्र ११, २०७६ | ताप्लेजुङ

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका पूर्व जनसरकार प्रमुख तथा जिल्ला कमिटी सदस्य विजय फेम्बू सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । साउन २१ गते प्रहरीले पक्राउ गरेका उनी हिरासतबाट निस्कनासाथ नेकपा प्रवेश गरेका हुन् ।

फेम्बूलाई बुधबार औपचारीक कार्यक्रम गरेर पार्टी प्रवेश गराइएको नेकपा कार्यालय टिमका सदस्य सन्तोष खतिवडाले जानकारी दिनुभयो । उनलाई जिल्ला अध्यक्ष विजय प्रकाश बनेम, प्रदेश सदस्य लक्ष्मी अङछङ्बो, कार्यालय टिमका सदस्यहरु सन्तोष खतिवडा, सुरज ओझा लगायतले स्वागत गरे । फक्ताङलुङ गाउँपालिका ५ तापेथोकस्थित घरैबाट पक्राउ परेका उनलाई प्रहरीले मुद्दा नचलाई छोडेको थियो । 

फेम्बू पक्राउ परेपछि चन्द समूहले विज्ञप्ति जारी गर्दै उनलाई रिहा नगरे कडा संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएको थियो । तर, विज्ञप्ति निकाल्ने सेक्रेटरी नरपति पौडेल सहित जिल्ला इञ्चार्ज सकल तथा ताप्लेजुङ र पाँचथरका इञ्चार्ज सहित पाँच जनालाई प्रहरीले झापाको दमकबाट पक्राउ गरिसकेको छ । उनीहरुलाई झापाको चन्द्रगढीमा राखिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया