ताप्लेजुङमा पनि डेंगु

भाद्र २७, २०७६ | ताप्लेजुङ

डेंगुको संक्रमण हिमाली जिल्लासम्म पुगेको छ । ताप्लेजुङमा पनि एक जना डेंगु संक्रमित भेटिएका छन् । आठराईं त्रिवेणी गाउँपालिका २ फुलवारिकी एक महिलामा डेंगु एण्टिबडी परीक्षण गर्दा पोजेटिभ पाइएको जिल्ला अस्पतालका प्रमुख डा. सोनिङ लामाले जानकारी दिनुभयो ।  

‘रगत परीक्षण गर्दा शंका लाग्यो र कीटमा परीक्षण गर्दा डेंगु भएको पाइयो,’ लामाले भन्नुभयो, ‘उहाँको परिवारको चाहना अनुसार थप उपचारका लागि बाहिर जिल्ला जान सल्लाह दिएर रेफर गर्‍यौं ।’ परिवारका अनुसार तीन महिनायता घरमै भएको र बाहिर जिल्लामा नगएकाले ताप्लेजुङमै डेंगु संक्रमित लामखुट्ट रहेको पुष्टि भएको हो । उनको अहिले झापामा उपचार भइरहेको छ ।

मुलुकभर महामारीका रुपमा फैलिएको डेंगुको परीक्षणका लागि ५० वटा कीट मगाइएको छ । अहिलेसम्म शंकास्पद १० जनालाई परीक्षण गर्दा बाँकीमा संक्रमण नपाइएको जिल्ला अस्पतालका प्रमुख डा. लामाले बताउनुभयो ।  

स्वास्थ्य संस्थामा आएका बिरामीमा शंका लागेमात्रै डेंगुको परीक्षण गरिने अस्पतालले जनाएको छ । जनस्वास्थ्यले यससम्बन्धी चेतनामूलक सन्देश प्रवाह गरिरहेको छ । 


प्रतिक्रिया