प्रदेश १ का तीन विमानस्थलमा सिता एयरको परीक्षण उडान

मंसिर १७, २०७६ | ताप्लेजुङ

सिता एयरलाइन्सले प्रदेश १ का विभिन्न तीन जिल्लाका  विमानथस्लमा परीक्षण उडान गरेको छ । सिता एयरले ताप्लेजुङको सुकेटार, खोटाङको लामिडाँडा र ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा परीक्षण उडान गरेको हो । एयरलाइन्सका व्यवस्थापक रिजेश थापाका अनुसार तीनै वडा परीक्षण सफल भएका छन् । 

प्रदेश राजधानी विराटनगरबाट ताप्लेजुङको सुकेटार विमानस्थलमा २० मिनेटमा अवतरण भएको नागरिक उड्डयन प्राधिकरण सुकेटार विमानस्थलका प्रमुख रुपेश मुरारकाले बताउनुभयो । मुरारकाका अनुसार मंगलबार बिहान परीक्षण गरिने भनिएपनि मौषमका कारण दिउँसो ३ बजे मात्रै जहाज अवतरण गरिएको थियो ।

चालक रोशन नेपाली कोइराला र रविन्द्र डङ्गोलले गरेका उडानमा चालक सहित ८ जना थिए । काठमाडौंबाट उडेको जहाज पहिला रुम्जाटार गएको थियो । त्यहाँबाट लामिडाँडा पुगेको थियो । लामिडाँडाबाट सीधै सुकेटार आउने प्रयास गरेपनि मौषम प्रतिकूलताका कारण विराटनगरमा गएर प्रतीक्षा गरेको थियो । 

यही मंसिर २७ गतेदेखि ताप्लेजुङको पाथीभरा र खोटाङको हलेसिमा तीर्थयात्री ओसार्ने योजनाका साथ परीक्षण उडान गरिएको हो । यस्को नेतृत्व प्रदेश १ को विराट होलिडे ग्रुपले गरेको छ । होलिडे ग्रुपका अध्यक्ष भविन श्रेष्ठका अनुसार दुई महिना प्याकेजमा चलाउने र त्यसपछि नियमित गर्ने उद्देशय रहेको छ ।

‘एक नम्बर प्रदेश एयरपोर्ट भएर पनि जहाज सञ्चालन गर्न काठमाडौंको भर पर्नुपर्यो,’ श्रेष्ठले भन्नुभयो, यो दुई महिनामा विराटनगरबाट आफ्नो प्रदेशभरी जहाज चल्छ भनेर प्रष्ट्याउन चाहन्छौं ।’ उहाँका अनुसार दुई महिनाको अवधिमा विराटनगरबाट सुकेटारसम्म जहाजमा र त्यहाँबाट हेलिकप्टरमा पाथीभरा दर्शनका लागि तीर्थयात्री लैजाने उद्देश्य रहेको छ । 


प्रतिक्रिया