सांसद शाहविरुद्ध पक्राउ पुर्जी जारी

पुस १८, २०७६ | कपिलवस्तु

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका सांसद अभिषेकप्रताप शाहविरुद्ध जिल्ला अदालत कपिलवस्तुले पक्राउ पुर्जी जारी गरेको छ । 

ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान गर्न सांसद शाहलाई पक्राउ गर्न पाउँ भन्दै प्रहरीले अदालतमा निवेदन दिएको थियो । सोही निवेदनका आधारमा शाहलाई पक्राउ गरी घटना बारे अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको हो । 

पक्राउ अनुमति पाईसकेपछि संघीय संसदलाई जानकारी दिने प्रक्रिया बुझिरहेको कपिलवस्तुका निमित्त प्रहरी प्रमुख डीएसपी सुनिल मल्लले बताउनुभयो ।

संघीय संसदलाई जानकारी दिएपछि शाहविरुद्ध कारबाही अघि बढाउने डीएसपी मल्लले बताउनुभयो । 

कपिलवस्तु–३ बाट निर्वाचित सांसद शाहले कृष्णनगरस्थित आफ्नो घरमा बोलाएर आफूमाथि कुटपिट गरेको जाहेरीकर्ताको दाबी छ ।

स्थानीय श्याम मिश्राले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा दिएको किटानी जाहेरीमा भनिएको छ, ‘सांसद शाह र उहाँका सवारी चालक सोनु कहार भनिने शशी कश्यपले आफूलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेकाले कारबाही गरी पाउँ ।’ 


प्रतिक्रिया