ताप्लेजुङमा कारागारको सुरक्षाका लागि सेना खटियो
असार २, २०७७ | ताप्लेजुङ
कैदीबन्दी राखिएको ताप्लेजुङको कारागारको सुरक्षाका लागि नेपाली सेना खटाइएको छ । कारागारको सुरक्षा पोष्टमा सोमबारदेखि सेनाले सुरक्षा दिन थालेको हो ।
ताप्लेजुङ जिल्ला कारागारको छतमा रहेको चार वटै सुरक्षा पोष्टमा भीमकाली गुल्मका सेनाको टोली खटिएको छ । पाँचथर कारागारमा पनि भैरवी दल गणको सेनाले पहरा दिन थालेको जेलर सुरेन्द्र मुखियाले जानकारी दिनुभयो ।
दुबै जिल्लामा सेनाको टोलीले सोमबार देखिनै सुरक्षा प्रदान गर्न थालेका हुन् । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार प्रहरीलाई सीमा सुरक्षामा पठाउन संख्या कटौती भएकाले सेना खटाइएको हो ।
‘बाहिरि घेरा, भित्री घेरा भन्ने हुँदैन,’ निरौलाले भन्नुभयो, ‘कानूनी प्रकृयाका काम प्रहरीले नै गर्छ, अदालत ल्याउने लैजाने काम प्रहरीबाटै हुन्छ ।’ कारागारको सुरक्षाका लागि खटाइएका १२ मध्ये आधाको संख्या कटौती भएपछि सेनाले सुरक्षा दिन थालेको निरौलाले बताउनुभयो ।
सैनिक श्रोतका अनुसार यो निर्णय मन्त्रिपरिषदबाटै भएको हो । प्रहरीहरु बाहिर जाने भएकाले माथिको आदेशमा सेना खटिएको एक जना सैनिक अधिकारीले बताए ।
ताप्लेजुङमा अहिले १ सय ३४ जना कैदीबन्दी रहेका छन् । पाँचथरमा १६ जना महिला सहित १ सय ४७ जना छन् । ताप्लेजुङमा महिला बन्दीगृह नभएकाले यहाँका पनि कैदीबन्दी पाँचथर पठाइन्छ ।
दुबै जिल्लाका कारागार क्षमता भने २५ जना मात्रैको हो । तर, वर्षौदेखि क्षमता भन्दा बढी कैदीबन्दी राख्दै आएका छन् ।