बझाङमा पहिरोले १७ वटा घर बगायो

असार २०, २०७७ | बझाङ

शनिबार बिहान गएको पहिरोले बझाङमा १७ वटा घर बगाएको छ । केदारस्युँ गाउँपालिका वडा नम्बर ८, मल्लेसी गाउँमा पहिरोले घर बगाएको हो । 

पहिरोबाट ठूलो मानवीय क्षति भएको अनुमान छ । बिहान २ बजे तिर पहिरो गएको हो । पहिरो गएको गाउँमा प्रहरी सहितको उद्धार टोली बिहानै गएको भएपनि पुग्न सकेको छैन । 

मल्लेसी जाने बाटो खोलैखोला भएर जानुपर्ने र माथिबाट पहिरो खसिरहेका कारण उद्धार टोली त्यहाँ पुग्न नसकेको स्थानीय दिपक बोहराले बताए । 

बोहराले ५ जनाको शव भेटिएको र २८ देखि ३० जना सम्म बेपत्ता रहेको अपुष्ट जानकारी आएको बताए ।

उद्धार गर्न गएको प्रहरी टोलीले बाटो बनाएर घटनास्थल जाने प्रयास गरिरहेको डीएसपी गणेश बमले जानकारी दिनुभयो । 

यद्यपि, त्यहाँ उद्धार टोली पुग्नका लागि अझै दुई घण्टा भन्दा बढी लाग्न सक्ने उहाँले बताउनुभयो । 

बझाङकी प्रतिनिधि सभा सदस्य आसा विकले हेलिकप्टर मार्फत उद्धार टोली घटनास्थल पठाउनका लागि प्रयास भईरहेको जानकारी दिनुभयो । 


प्रतिक्रिया