५ बैंकका ७ कर्मचारीमा कोरोना संक्रमण

श्रावण २१, २०७७ | कपिलवस्तु

कपिलवस्तुका विभिन्न ५ वटा बैंकका कर्मचारीमा कोरोना संक्रमण भएपछि सिल गरिएको छ । सदरमुकाम तौलिहवाका ३ र प्रमुख व्यापारिक केन्द्र कृष्णनगरका २ बैंक शाखा सिल गरिएको छ । 

सदरमुकाम तौलिहवामा रहेका मेगा बैंकका एक, लक्ष्मी बैंकका एक र तिनाउ मिसन बैंकका ३ कर्मचारीमा बुधबार संक्रमण देखिएको हो । त्यस्तै कृष्णनगरको एभरेष्ट बैंकका एक र नेपाल बैंकका २ कर्मचारीमा संक्रमण देखिएको छ । 

संक्रमण देखिएको ५ वटै बैंकका शाखा सिल गरेर बन्द गरिएको मेगा बैंक तौलिहवा शाखा प्रबन्धक राजेन्द्र शर्माले बताउनुभयो ।

‘लोन, क्यास र ऋण शाखामा काम गर्ने कर्मचारी संक्रमित भएका छन्,’ उहाँले भन्नुभयो, ‘सेवाग्राहीको सुरक्षाका लागि सबै सेवा बन्द गरेका हौं ।’ अब यी बैंकका सबैं कर्मचारीको पीसीआर परीक्षण गराएर अवस्था सामान्य नभएसम्म सेवा बन्द हुने उहाँले बताउनुभयो ।

समुदाय स्तरमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन नमूना परीक्षणका लागि स्वाब संकलन गर्दा बैंकका कर्मचारीमा संक्रमण देखिएको हो । ‘संक्रमित कर्मचारीलाई छुट्टै आईसोलेट भएर बस्न भनेका छौं,’ प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भन्नुभयो, ‘अहिले शाखा पनि पूर्ण रुपमा बन्द गर्न निर्देशन गरेका छौं ।’ 

सदरमुकाम तौलिहवाका ग्लोबल, एनआईसी, प्रभु र एभरेष्ट बैंकका कर्मचारीमा गरिएको स्वाबको नमूना परीक्षणको रिपोर्ट अझै आएको छैन् । बैंकका कर्मचारी संक्रमित भएपछि बजार क्षेत्रमा त्रास बढेको छ । 


प्रतिक्रिया