कोरोनाको ‘हटस्पट’ वीरगञ्ज सुधारोन्मुख

भाद्र २५, २०७७ | वीरगञ्ज

साउन पहिलो सातादेखि कोरोनाको हटस्पट वीरगञ्ज भदौ दोस्रो सातादेखि सुधारोन्मुख देखिएको छ । भदै ९ देखि पर्सामा ४ सय २८ जना नयाँ संक्रमित थपिएका छन् । तर, यही अवधिमा ८ सय ७५ जना संक्रमित कोरोनामुक्त भएर भएका छन् । 

१० दिन अगाडिसम्म नारायणी अस्पतालमा दैनिक ६/७ जना गम्भीर किसिमका कोरोना संक्रमित रेफर भएर उपचारका लागि आउँथे । अहिले दैनिक १/२ जना मात्र कडा कोरोना भएको बिरामी आउने गरेका छन् । लक्षण सहितको कोरोना संक्रमितको उपचारका लागि वीरगञ्जमा सञ्चालनमा आएका दुई वटा विशेष कोरोना अस्पताल मध्ये एउटा अस्पताल दुई दिनदेखि खाली छ । 

१ सय २० शय्याको नारायणी अस्थाई वीरगञ्ज हेल्थ केयर कोरोना अस्पतालमा भर्ना भएका कोरोना संक्रमित संक्रमण मुक्त भएर घर फर्किएका छन् । मंगलबारदेखि त्यहाँ नयाँ संक्रमति भर्ना भएको छैनन् । ७० बेड भएको नारायणी अस्थाई गण्डक कोरोना अस्पतालमा २९ पुरुष र १० महिला सहित ३९ जना संक्रमित छन् । जसमध्ये ६ जना आइसीयूमा उपचाररत छन् ।

नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा.निरज कुमार सिंहका अनुसार जिल्लाको पछिल्लो विवरणले कोरोना संक्रमण ओरोलातर्फ गइरहेको देखाउँछ । ‘साउनमा वीरगञ्ज बजार क्षेत्रका अधिकांशमा ज्वरो, रुघा, खोकीको समस्या देखिएको थियो,’ कोरोना संक्रमितको उपचारमा संलग्न रहेका डा.सिंहले भन्नुभयो, ‘कतिपयले चिकित्सकको सल्लाहमा घरमै औषधि सेवन गरेर बसे, ज्वारो, खोकी निको पनि भयो ।’ डा. सिंहका अनुसार साउन पहिलो सातादेखि वृद्धि भएको संक्रमण भदौ दोस्रो सातादेखि ओरालोतर्फ गएको देखिन्छ । वरिष्ठ फिजिसियन डा.सिंहले भन्नुभयो, ‘भदौसम्म केही कठोर हुन्छ, त्यसपछि जीवन सहज हुँदै जान्छ ।’

नारायणी अस्थाई गण्डक कोरोना अस्पतालका इञ्चार्ज डा.उदय नारायण सिंहले वीरगञ्जमा कोरोना संक्रमण सुधारोन्मुख रहेको बताउनुभयो । ‘नयाँ संक्रमितको संख्या त घटेकै छ,’ डा.उदय सिंहले भन्नुभयो, ‘तुलनात्मक हिसाबले कडा र गम्भीर किसिमको कोरोना बिरामीको सख्ंया पनि घट्दो छ ।’ उहाँका अनुसार १० दिन अगाडि सम्म दैनिक ५ देखि ७ जना गम्भीर कोरोना संक्रमित रेफर भएर आउँथे । ‘अहिले दैनिक १/२ जना मात्र गम्भीर संक्रमित आउँछन्,’ उहाँले भन्नुभयो, ‘अवस्था सुधारोन्मुख नै छ ।’ पछिल्लो समय सहर भन्दा पनि गाउँबाट कोरोनाका गम्भीर संक्रमित आउने गरेको उहाँको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले कोरोना नियन्त्रणका लागि ३ वटा रणनीतिमा केन्द्रित भएर काम गरेको बताउनुभयो । ‘परीक्षण, संक्रमितको व्यवस्थापन र उपचार यो तीन वटा रणनीति कार्यान्वयनमा ल्यायौँ,’ उहाँले भन्नुभयो, ‘भदौ दोस्रो सातादेखि जिल्लामा कोरोना संक्रमितको संख्या घट्दो छ ।’ उहाँका अनुसार निषेधाज्ञाले आवतजावत कम गर्‍यो जसले कोरोना भाइरसलाई घेराबन्दी गर्न मद्दत गर्‍यो ।

‘संक्रमितको व्यस्थापनमा कन्टयाक्ट ट्रेसिङको मूख्य भूमिका हुन्छ,’ प्रजिअ तामाङले भन्नुभयो, ‘संक्रमितको सम्पर्कमा आएका, शंका गरिएका र संक्रमति क्षेत्रमा स्वाब परीक्षण गर्‍यौँ । परीक्षण व्यवस्थीत बनाएका छौँ ।’

संक्रमतिका लागि अस्पतालको व्यवस्थापन र चिकित्सकीय सेवा पनि प्रभावकारी बनाइएको छ । ‘कोरोना विरुद्धको सचेतनाले पनि रोकथाममा सहयोग पुर्‍याएको छ,’ उहाँले भन्नुभयो ‘विभिन्न गैरसरकारी संस्था र नागरिक समाजबाट सहयोग मिलेको छ ।’ औद्योगिक क्षेत्र पनि स्वास्थ्य प्रोटेकल पालना गरेर मात्र सञ्चालनमा आउन दिइएको छ ।

बजारमा चहलपहल 

जिल्ला सुरक्षा समितिले भदौ १९ गतेदेखि जारी गरेको निषेधाज्ञाकै क्रममा आलोपालो गरी वीरगञ्ज बजार खोल्न दिने निर्णय गरेको छ । झन्डै ४० दिनपछि बजार खुलेपछि अहिले चहलपहल बढेको छ । पसलमा आएका ग्राहकलाई सामाजिक दूरी कायम गर्ने र भिडभाड नियन्त्रण गर्न सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यवसायीको हुने प्रशासनले जनाएको छ । 

वीरगञ्ज उद्योग वाणिज्य संघले समेत नियमको पालना भए/नभएको बारे अनुगमन गर्ने गरेको छ । संघका अध्यक्ष गोपाल केडियाले लामो समयपछि बजार खुलेपछि चहलपहल बढेको बताउनुभयो । ‘पसल खुलेपछि व्यापारीलाई एउटा बस्ने थलो पनि भएको छ, आफ्नो पूजापाठ गर्न, झाँडुपोछा गर्न पाएका छन्,’ उहाँले भन्नुभयो, ‘पसल खुलेपछि जथाभावी घुम्नु पर्दैन् ।’

उहाँका अनुसार अहिले खाद्यान्न, औषधि र निर्माण सामग्री बाहेकको पसलमा ग्राहकको भीड देखिदैन । ‘यहाँ ग्राहक आउने भनेको सीमावर्ती भारतीय बजार, बारा, रौतहट र ग्रामीण क्षेत्रबाट हो,’ संघका अध्यक्ष केडियाले भन्नुभयो, ‘सार्वजनिक यातायात नचलेकाले ग्रामीण क्षेत्र र अन्य जिल्लाबाट आवागमन ठप्प प्राय छ । नाकाबाट अहिले आवतजावत निषेध गरिएकाले भारतीय ग्राहक पनि आएका छैनन् । कपडा, रेडिमेड पसलमा गतिलो व्यापार छैन ।

जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको विवरण अनुसार बिहीबारसम्म जिल्लामा २ हजार ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार ६ सय ३० जना कोरोनामुक्त भएका छन् । हालसम्म ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


प्रतिक्रिया