बन्द रहेका धार्मिकस्थल खुला गर्ने सरकारको तयारी

आश्विन २१, २०७७ | ताप्लेजुङ

सरकारले कोरोना संक्रमणका कारण बन्द रहेका धार्मिक स्थल खोल्ने तयारी गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले बिहीबारको मन्त्रिपरिषदको बैठकमा सो प्रस्ताव लैजाने बताउनुभयो । 

गृह जिल्ला ताप्लेजुङ आएका मन्त्री भट्टराईले ताप्लेजुङ आउनुअघि मंगलबार बेलुका आफूले प्रधानमन्त्री केपी शर्मा ओलाीलाई भेटेर धार्मिकस्थल क्रमिक रुपमा खोल्नका लागि प्रस्ताव गरेको जानकारी दिनुभयो ।

‘यता आउनुअघि हिजो बेलुका मैले प्रधानमन्त्री ज्यूसँग छलफल गरेको थिए,’ उहाँले भन्नुभयो, ‘सुरक्षा सावधानी अपनाऔं, भोलेण्टियर, सुरक्षाकर्मी प्रयोग गरौं, मास्क स्यानिटाइजरको प्रयोग गराऔं भनेको छु, प्रधानमन्त्री ज्यूले सकारात्मक कुरा गर्नुभएको छ ।’

तर, क्याबिनेटले निर्णय गरेपछि मात्रै त्यसको अन्तिम निर्णय हुने मन्त्री भट्टराईले बताउनुभयो । निश्चित संख्याको आधारमा क्रमिक रुपमा खोल्ने गरिको प्रस्ताव गरिने भट्टराईको भनाई छ । 

कोरोना संक्रमणका कारण पशुपतिनाथ, ताप्लेजुङको पाथीभरा लगायत धार्मिकस्थल दर्शनार्थीका लागि बन्द गरिएको छ । तर, पाथीभरा दर्शनका लागि फाट्टफुट्ट दर्शनार्थी भने आइरहेका छन् । 


प्रतिक्रिया